एसईई आजबाट, ५ लाख ४ हजार विद्यार्थी सहभागी हुँदै

एसईई आजबाट, ५ लाख ४ हजार विद्यार्थी सहभागी हुँदै
सांकेतिक तस्बिर

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।

विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्।

यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षामा सामेल हुन फाराम भरेका छन्।

ती मध्ये ४ लाख ८० हजार परीक्षार्थीले प्रवेश पत्र लिइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन्।

यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन्।

त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोशी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट  ४० हजार ९ सय ७७ विद्यार्थी छन्।

सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन्। यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

बोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष¸ सहायक केन्द्राध्यक्ष¸ निरीक्षक¸ सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटाएको परीक्षा नियन्त्रक पौडेल बताए।

यो वर्ष  २ लाख ५३ हजार ६ सय २७ जना छात्र परीक्षामा सहभागी हुँदा दुई लाख २ लाख ५० हजार ७ सय ७२ छात्राले परीक्षा दिनेछन्।

परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनेछ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर विद्यार्थीले ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था थियो।

तर अब एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्नेछ।

सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने छ। परीक्षाफल भने तीन महिनामा प्रकाशित गर्ने बोर्डको योजना छ।

१५ चैत, २०८०, ०७:५१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।