उपनिर्वाचन इलाम -२ : प्राइमरी इलेक्सनमा रास्वपाका ६ जनाको उम्मेदवारी, मिलन लिम्बूको सम्भावना कति?

उपनिर्वाचन इलाम -२ : प्राइमरी इलेक्सनमा रास्वपाका ६ जनाको उम्मेदवारी, मिलन लिम्बूको सम्भावना कति?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम -२ को उपनिर्वाचनका लागि ६ जना उमेदवारको नामावली प्रकाशन गरेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बुधबार प्राइमरी इलेक्सनका लागि ६ जना आकांक्षीको नाम सार्वजनिक गरेका हुन्।

जसमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने रहेका छन्। यी उमेदवारहरूबीचमा प्रारम्भिक मतदान हुने र एक जनालाई उमेदवार बनाउने रास्वपाले जनाएको छ।

केही समयअघि मात्रै माओवादी केन्द्र त्यागेका मिलन लिम्बूले पनि रास्वपाको प्राइमरी इलेक्सनका लागि उम्मेदवारी दिएका छन्।

उनले यसअघि माओवादी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका थिए। त्यसपछि रास्वपाले उनलाई उमेदवार बनाउने चर्चा सुरू भएको थियो।

यसैबीच, प्राइमरी इलेक्सनमा भाग लिएका लिम्बूलाई रास्वपाले इलाम -२ मा उमेदवार बनाउन लागेको स्रोतले जनाएको छ।

चुनावमा भाग लिने उमेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन उनीहरूले उम्मेदवारी दिएका थिए।

रास्वपाले प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय मिति भोलि दिउँसो १ बजेसम्म निर्धारण गरेको छ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम-२ मा आगामी वैशाख १५ उपनिर्वाचन हुन लागेको हो।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए।

१४ चैत, २०८०, २०:१७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।