त्रिविको लापरबाही : फेरि हरायो १७६ थान उत्तरपुस्तिका, 'जनसंख्या' विषयको दोस्रोपल्ट परीक्षा लिँदै

त्रिविको लापरबाही : फेरि हरायो १७६ थान उत्तरपुस्तिका, 'जनसंख्या' विषयको दोस्रोपल्ट परीक्षा लिँदै

 

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा फेरि अर्कोपटक उत्तरपुस्तिका हराएको छ।

अछामको परीक्षा केन्द्रबाट सञ्चालन गरिएको स्नातक प्रथम वर्षको 'फाउन्डेसन अफ एजुकेसन ४१२' विषयको १७६ थान उत्तरपुस्तिका हराएको हो।

यसैबीच, उत्तर पुस्तिका हराएको विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालयले छानबिन समिति गठन गर्न लागेको छ।

उपकुलपति प्राडा केशरजंग बरालले उक्त प्रकरणमा उपकुलपति कार्यालयले छानबिन समिति बनाएर दोषीमाथि सात दिनभित्र कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

उत्तरपुस्तिका हराएको विषयमा पनिकाले समेत छानबिन समिति गठन गरेको छ।

त्रिविले यसअघि पनि गत वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिकाको पोकै हराएको थियो। त्यसको भने त्रिविले पुनः परीक्षा गर्न लागेको छ।

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ।

पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो। सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन्।

चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो।  

चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ। 

१४ चैत, २०८०, १९:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।