जीवन चलाउने र एआइजी ज्ञवालीको सिडिआर बाहिरिएको घटनामा मिडियालाई दोष, आइजिपीले भने' अनुसन्धान गर्छौँ'

जीवन चलाउने र एआइजी ज्ञवालीको सिडिआर बाहिरिएको घटनामा मिडियालाई दोष, आइजिपीले भने' अनुसन्धान गर्छौँ'

काठमाडौँ : सुन तस्करीको अभियुक्त बने लगत्तै फरार रहेका जीवन चलाउने र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआइजी श्याम ज्ञवालीबिच कुराकानी भएको सिडिआरबारे प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्ने भएको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिडिआर बाहिरिनु गम्भीर विषय भएको भन्दै त्यो कसरी बाहिरियो भन्ने विषय गम्भीर रहेको उनले बताए।

मंगलबार चलाउने र एआइजी ज्ञवालीबिच मोबाइलमा भएको कुराकानीको रेकर्डसहित छानबिनका लागि गृह मन्त्रालयमा उजुरी परेको विषय सिडिआरको विवरणसहित सार्वजनिक भएको थियो।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख किरण बज्राचार्यसहित चार प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा तानेर ज्ञवालीलाई ब्युरोमा पठाएको थियो।

त्यहीबीचमा चलाउनेले उकेरासहितको मिडियामा भिडियो कुराकानीमा ज्ञवाली प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुँदा आफूसँग दुई करोड मागेको र रकम नदिएपछि फसाउन लागेको दाबी गरेका थिए। उनले आफू र ज्ञवालीको सिडिआर हेर्न चुनौती समेत दिएका थिए। त्यहीबीचमा दुवैको सिडिआर मिडियामा सार्वजनिक भएको हो।

कुनै व्यक्तिको सिडिआर रिपोर्ट अनुसन्धान गर्ने निकायले कारण खुलाएर अदालतबाट पूर्व अनुमति लिएर मात्र सम्बन्धित दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट लिन सक्ने कानुनी प्रावधान रहेको छ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले जीवन चलाउने र एआइजी ज्ञवालीबिचको सम्बन्धबारे उठेको प्रश्नको जवाफ दिनेक्रममा आइजिपी कुँवरले यो गम्भीर विषय रहेको र यसबारे छानबिन गर्ने बताए।

उनले 'जीवन चलाउनेको केस आएको र आयोगदेखि सबै त्यही वरिपरि घुमेको भन्दै मिडियामा तथ्यविना सतहमा ल्याइएको दाबी गरे।

उनले व्यक्ति(चलाउने) पक्राउ नपरेसम्म केही भन्न नसिकिने भन्दै सिडिआरको विषय अत्यन्त संवेदनशील विषय रहेको र त्यो आफ्नो आन्तरिक छानबिनको विषय भएको र छानबिन समेत हुने बताए।

प्रतिपक्षमा रहँदा वर्तमान गृहमन्त्री रवि लामिछानेले पनि चलाउनेको विषय उठाएका थिए। तर सत्ताधारी भएपछि भने उनको बोली बदलिएको छ।

उनले एआइजी ज्ञवालीबारे पत्र नपाएको भन्दै कुन विषय लेखाएको वा लेखिएको हो त्यो छुट्टाउनुपर्ने संयन्त्र गृह मन्त्रालयमा बनाउनुपर्ने बताए।  उनले मिडियामा लेखिएको विषय ठ्याक्कै यस्तै हो भनेर भन्न सक्ने अवस्था नभएको दाबी गर्दै प्राविधिक जाँच नगरी राज्य व्यवस्था समिति जस्तो स्थानमा छलफल गर्न नहुने तर्क गरेका थिए।

वास्तविक बहस गरेपछि मात्रै बहसमा ल्याउनुपर्ने भन्दै आउने बित्तिकै उचालिन नहुने भन्दै उल्टो सुझाव दिए। मिडियामा आउन पाएको छैन छलफल गरिहाल्न नहुने बताएका थिए।

उनले 'कैयौँ माननीयको व्यवसाय रहेको र कैयौँ माननीयको मिडियामा मित्रहरू रहेको' भन्दै उल्टो मिडियामाथि छेडखानी गर्दै गम्भीर विषयको विषयान्तर गरेका थिए।

१४ चैत, २०८०, १८:४०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।