केन्द्र मौन भए पनि माओवादी केन्द्र प्रदेशले इलामका लागि उम्मेदवार सिफारिस गर्‍यो

केन्द्र मौन भए पनि माओवादी केन्द्र प्रदेशले इलामका लागि उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौँ : उप निर्वाचनमा एमालेको उम्मेदवारलाई सघाउने कि आफ्नै उम्मेदवार उठाउने भन्नेमा केन्द्र निर्णयहीन बसेको अवस्थामा माओवादी केन्द्रको प्रदेश समितिले भने चार जनाको नाम सिफारिस गरेको छ।

इलाम-२ मा वैशाख १५ मा हुन लागेको उपनिर्वाचनका लागि प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार नाम सिफारिस गरेको हो।

प्रदेशले पहिलो नम्बरमा धिरेन्द्र शर्मा तिम्सिना, दोस्रोमा उर्मिला तामाङ, तेस्रो क्रमसङ्ख्यामा ओम बहादुर गुरुङ र चौथोमा कुमार बराइलीको नाम सिफारिस गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सोमबार भएको छलफलमा उपनिर्वाचनमा मिलेर जान ओलीले प्रस्ताव गरेका थिए।

एमालेले गठबन्धनका दलहरूसँग छलफलै नगरी एकतर्फी रूपमा इलामको प्रतिनिधि सभासँगै बझाङको प्रदेश सभाका लागि समेत उम्मेदवार चयन गरिसकेको छ। छलफलमा माओवादी केन्द्र सकारात्मक भए पनि एकीकृत समाजवादीमा पनि तीन नाम सिफारिस भएको छ। 

उपनिर्वाचनसहितको विषयमा छलफल गर्न माओवादीले बुधवार बिहान ८ बजे पार्टी पदाधिकारीको बैठक डाँकेको छ। एकीकृत समाजवादी भने छलफलमै देखिएको छ।

१३ चैत, २०८०, २०:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।