काम पाउनै छाडेका धिरेन भन्छन्, ‘शोभितको फिल्ममा गेष्ट रोल पाउनु मेरो लागि पनि ठूलो हो’

काम पाउनै छाडेका धिरेन भन्छन्, ‘शोभितको फिल्ममा गेष्ट रोल पाउनु मेरो लागि पनि ठूलो हो’

काठमाडौं : कुनै समयका चल्तीका नायक हुन् धिरेन शाक्य। उनलाई लिएर फिल्म बनाउन निर्माता तथा निर्देशकहरूले पालो कुनुपर्थ्यो। अहिले भने अवस्था फेरियो।

फेसबुक प्रोफाइल चिहाएको कुरालाई साइडमा राख्ने हो भने, आक्कलझुक्कल म्युजिक भिडियोमा बाहेक धिरेनलाई दर्शकले देख्नै छाडिसके। फिल्मको त कुरै नगरौं।

बिहीबार भने आफू अतिथि भूमिका रहेको फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज कार्यक्रममा झुल्किए उनी। धिरेनले फिल्ममा आफ्नो भूमिका सानो भए पनि महत्त्वपूर्ण रहेको दाबी गरे।

भूमिका सानो भए पनि उत्साहित रहेको भन्दै उनले निर्देशक शोभित बस्नेतको तारिफ गरिहाले। उनी यतिमा मात्रै रोकिएनन्, शोभितको फिल्ममा अतिथि भूमिका पाउनु नै ठूलो कुरा भएको समेत बताए।

‘शोभितजीको फिल्ममा गेष्ट भएर खेल्नु पनि मेरो लागि ठूलो कुरा हो। किनभने ३० वर्ष अगाडि पनि उहाँको फिल्ममा काम गर्ने मौका पाएको थिए र अहिले पनि निरन्तरता पाइरहेको छु। यो नै ठुलो कुरा हो।’

उसो त, फिल्ममा कसैले नलिइरहेको बेला शोभित बस्नेतकै फिल्ममा भए पनि काम पाउनु ठूलो कुरा हुने नै भयो। जे होस्, सानै भूमिकामा भए पनि धिरेनको ‘कमब्याक’ फलदायी होस्, शुभकामना।

९ चैत, २०८०, ०८:१९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।