नागरिक उड्डयनका महानिर्देशक प्रदीप र उमा कम्पनीको शंकास्पद कारोबार, एकै कम्पनीलाई २ अर्ब ४७ करोडको २८ ठेक्का

नागरिक उड्डयनका महानिर्देशक प्रदीप र उमा कम्पनीको शंकास्पद कारोबार, एकै कम्पनीलाई २ अर्ब ४७ करोडको २८ ठेक्का

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई अर्ब ४७ करोडको २८ वटा कामको ठेक्का दिएको उमा एन्ड कम्पनीसँग महानिर्देशक प्रदीप अधिकारीको शंकास्पद आर्थिक कारोबार देखिएको छ।

उकेरालाई प्राप्त विवरणमा प्राधिकरणले उमा एन्ड कम्पनीलाई ५ वर्षमा दुई अर्ब ४७ करोड ४५ लाखको २८ वटा ठेक्का दिएको थियो। त्यही उमा एन्ड कम्पनीका प्रमुख प्रेमप्रकाश ढकाल र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच व्यक्तिगत कारोबार देखिन्छ।

शंकास्पद रूपमा जुन कम्पनीले प्राधिकरणबाट निरन्तर ठेक्का पाइरहेको छ त्यसका प्रमुख ढकालको नाममा अधिकारीले चितवनमा रहेको जग्गा विक्री गरेका थिए। चितवनमा रहेको २ हजार ६ सय २९ मिटर रैकर जग्गा २०७७  असोज १५ गते महानिर्देशक अधिकारीको जग्गा प्रेम प्रकाश ढकाललाई बेचेका थिए।

उकेराले भेटेको केही स्रोतले जग्गा बिक्री गरे पनि सम्पत्ति लुकाउन अधिकारीले आफ्नो विश्वासपात्र ढकालको नाममा पास गरेको दाबी गर्यो। यसबारे ढकालसँग बारम्बार सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आएनन्। अधिकारी समेत सम्पर्कमा आएनन्।

अधिकांश ठुला ठेक्कामा उमाकै कब्जा

उकेरालाई प्राप्त विवरणमा उमाले एरोड्रम इन्जिनियरिङ विभागबाट ५ वटा ठेक्का पाएको देखिन्छ। यस विभागले अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका विमानस्थलमा काम गर्छ।

पहिलो ठेक्का २०७७ फागुन २ मा जनकपुरको विमानस्थलको पाएका थिए। यसको लागत ३ करोड ७९ लाख थियो। २०७८ पुसमा ४५ करोड ६६ लाखको महेन्द्रनगर विमानस्थलको बहुवर्षिय योजनाको ठेक्का पनि उमाले नै पायो।

२०७८ असारमा रारा विमानस्थलको काम पनि उमाले नै पायो। यसको लागत २१ करोड ६८ लाख देखिन्छ। यो काम सकिएको छैन।

उमाले विभागबाट हुने कामको ठेक्का पाउने क्रम रोकिएन। नालिन्चोक हेलिकोप्टरको लागि २०७९ साउनमा १३ करोड ५१ लाखको ठेक्का उसैले पायो। त्यस्तै २०७६ सालमा कालिकोट विमानस्थलको ठेक्का पनि उसैले पायो। यसको लागत ३ करोड ३३ लाख थियो। प्राधिकरणको विवरणमा यी दुई विमानस्थलको काम सकिएको उल्लेख छ।

त्यस्तै हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको लागि १५ नोभेम्बर २०१९ मा २८ मा भएको सम्झौतामा २ करोड ८६ लाख २६ हजार रुपैयाँको ठेक्का पनि उमाले नै पाएको थियो।

त्रिभुवन विमानस्थल विस्तारको  ठेक्का पनि उमा एन्ड कम्पनीलाई

अधिकांश ठेक्का उमा एक्लैले पाउने गरेको देखिन्छ। कतै कुनै कम्पनी आए पनि त्यसमा उमा जोडिएर जोइन्ट भेन्चरमा काम हुने गरेको देखिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको  अधिकांश काम पनि यही कम्पनीले पाएको छ। २०७५ जेठ ३१ गते रनवे, ट्याक्सीवेको लागि भएको काममा उमा एन्ड गजुरमुखी काष्ठमण्डपले १ करोड ३३ लाख रुपैयाँको काम पायो।

२०७५ असार २१ गते ८५ करोड ९३ लाखको त्रिभुवन विमानस्थलमा टर्मिनल भवनको फ्लोरिगं बनाउने ठेक्का निस्कियो। त्यो पनि उमा एन्ड कम्पनीले नै पायो।

त्यस्तै २०७५ असार २१ गते डिपार्चर साइडको कार्पेटिङको ८५ करोड १४ लाखको ठेक्का निस्कियो। यो ठेक्का उमा मामा –मार्गदेवी जेभीले पायो।

२०७५ चैत ११  गते रनवे मर्मत सम्भारको ३३ लाख ६३ हजारको ठेक्का उमा एन्ड कम्पनीले नै पायो।

४१ लाख ६५ हजारको शौचालय निर्माणको ठेक्का अनि भित्ते चित्र बनाउने १ करोड १७ लाखको ठेक्कासम्म उमा एन्ड कम्पनीको काष्ठमण्डपले पायो। यो ठेक्का २०७६ असार ४ मा भएको थियो।

उड्डयन प्राधिकरणले उमालाई दिएको ठेक्का विवरण।यतिमै उमाले प्राधिकरणको ठेक्का पाउने क्रम रोकिएन। रनवे मेनटेन, हेलिप्याड, रोड पुनर्निर्माणको लागि उमा एन्ड काष्ठमण्डप कम्पनीले २०७६ असार ३१ गते २ करोड ४३ लाख रुपैयाँको ठेक्का पायो। बगैँचा निर्माणको लागि २०७६ साउन ३० गते भएको १ करोड ४ लाखको ठेक्का पनि उमा एन्ड इभर एन्ड ग्रिन कम्पनीले नै पायो।

घरेलु विमानस्थलको डिपार्चर हलको निर्माणको काम पनि उमा एन्ड शुभ कन्स्ट्रक्सनले पायो। २०७६ कार्तिक ७ गते निस्किएको यो ठेक्काको रकम ७ करोड १२ लाख १७ थियो।

अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर र अराइभलको काम श्री प्रेरा, उमा एन्ड कम्पनी र शुभ जेभीले संयुक्त रूपमा पाए। कार्तिक ६ गते निस्किएको यसको रकम १४ करोड ८० लाख छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइटिबि पुनर्निर्माणको लागि भएको ठेक्का प्रक्रियामा जसले पाए पनि जेभीमा उमा एन्ड कम्पनी छुट्ने कुरै आएन।

२०७६ माघ १६ गते भएको सम्झौतामा ६ करोड ९५ लाख रुपैयाँ, अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वे ६ को लागि उमा एन्ड कम्पनीले ३ करोड ९८  लाख रुपैयाँ बराबरको ठेक्का पायो।

२०७८ मंसिर १६ गते भएको सम्झौता अनुसार रिनोभेसन आइटीबीको लागि उमा एन्ड कम्पनी र शुभ जेभीले ८ करोड ९२ लाखको ठेक्का पायो।

२०७८ फागुन १३ गते पार्किङकै काममा उमा एन्ड एवान जेभीले ७ करोड ७३ लाख रुपैयाँको ठेक्का लगायो। त्यस्तै र्याम्प बसको पुनर्निर्माणको लागि २०७९ वैशाख १६ गते निस्किएको ठेक्का पनि उमा एन्ड कम्पनीले नै पायो। यो १ करोड ७१ लाखको हो।

२०७९ साउन २३ गते अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ बे १ र बे २ को काम सुरु भएको छ। यसको ठेक्का पनि उमा एन्ड कम्पनी, एवान र कालिका जेभीले पायो। यो ११ करोड ४९ लाखको हो।

राष्ट्रिय गौरवको आयोजना पनि उमालाइ नै

घरेलु हवाई मैदानका सामान्य कामदेखि राष्ट्रिय गौरवको आयोजनासम्मका ठेक्कामा  उमा एन्ड कम्पनीको कब्जै देखिन्छ। प्राधिकरणले निकाल्ने अधिकांश ठेक्कामा उमा छुटेकै छैन।

२०७५ साउन ३० गते भैरहवा विमानस्थलको रिनोभेसन सेक्युरिटी बिल्डीगं कामको ठेक्का निस्कियो। ७ करोड ७९ लाखको ठेक्का एमएस समानान्तर उमा एन्ड कम्पनी र शुभ जेभीले पाए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तिनाउ रिभरको कामको ठेक्का २०७६ जेठ ६ गते निस्कियो। यो उमाले नै पायो। यो २० करोड ४० लाखको ठेक्का हो।

उमाले प्राधिकरणबाट पाएको राष्ट्रिय गौरवको ठेक्का विवरण।२०७५ चैत १८ मा यही विमानस्थलको पेरिमिटर निर्माणको काम पनि उमा एन्ड कम्पनीले नै पायो। यसको रकम १९ करोड ६२ लाख छ।

अख्तियारले  छानबिन गरिरहेको पोखरा विमानस्थल निर्माणमा पनि उमा जोडिएकै छ। यहाँको कन्स्ट्रक्सन कभरिगं इरिगेशनको काम उमाले नै पायो। यो ठेक्काको रकम १ करोड ३ लाख थियो। दुवै पक्षबीच २०७७ जेठ ३२ मा सम्झौता भएको देखिन्छ।

२०७५ फागुन ६ भएको ४ करोड २२ लाखको पोखरा विमानस्थलको अर्को ठेक्का पनि उसैले पायो। त्यस्तै अर्को ठेक्का २०७९ कार्तिक २५ गते निस्कियो। उमा एन्ड कम्पनीले ३२ करोड ३० लाखको ठेक्का पायो।

उकेराले प्राप्त गरेको विवरणमा २०७५ देखि पाँच वर्षको अवधिमा उमाले प्राधिकरणबाट २८ वटा ठेक्का पाएको देखिन्छ। अधिकारी २०७८ माघ १८ मा महानिर्देशकमा नियुक्त भएका हुन्।

त्यसभन्दा अगाडि उनी राष्ट्रिय गौरवको आयोजना प्रमुख थिए। त्यहाँ रहँदा पनि उनको प्रिय कम्पनी उमा नै देखियो।

महानिर्देशकको जग्गा ढकालको नाममा

उमा एन्ड कम्पनीका प्रमुख प्रेमप्रकाश ढकाल र महानिर्देशक अधिकारी निकट मित्र हुन्। यी दुबैबीच प्राधिकरणमै काम गर्नेक्रममा चिनजान भएको स्रोतले बतायो।

उनी महानिर्देशक हुनुभन्दा अगाडिबाटै उमालाई ठेक्का पार्न सक्रिय थिए। महानिर्देशक भएपछि त अधिकारीले उमा एन्ड कम्पनीको टर्न ओभर हेरेर ठेक्काको मापदण्ड बनाउन लगाउने, उमा एन्ड कम्पनीलाई फिट हुने गरी रकम इस्टीमेट गर्ने, प्रतिस्पर्धामा अन्य ठेकेदार आएको खण्डमा पहिलो प्रक्रियाबाटै अन्य प्रतिस्पर्धीलाई अयोग्य बनाएर उमालाई नै काम दिने गर्दै आएको देखिन्छ।

प्रदीप अधिकारीले प्रेमप्रकाश ढकाललाई बेचेको जग्गाको विवरण।यी दुवैबीचको घनिष्ठ सम्बन्ध रहेको उनीहरुबीच भएको जग्गा कारोबारको विवरण र मितिले पनि देखाउँछ। चितवनमा महानिर्देशक अधिकारीको नाममा तीन कित्ता जग्गा थियो। ती सबै जग्गा एकै मितिमा अधिकारीले ढकालको नाममा पास गरिदिएका थिए।

चितवनको खैरहनीमा सागरमोहन भट्टराइसँग अधिकारीको संयुक्त नाममा रहेको कित्ता नम्बर १४९, २०३२ र २३०९ को २ हजार ६ सय २९ वर्ग मिटर जग्गा उनले २०७७ असोज १५ गते राजीनामा पास गरेर दिएका थिए। सागरमोहन भट्टराई र प्रदीप अधिकारी इन्जिनियरिङ पढ्दाताकाका एकै कक्षामा अध्ययनरत विद्यार्थी हुन्।

सम्बन्धित समाचार

८ चैत, २०८०, १६:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।