सालिन आत्महत्या घटनाका तीनै आरोपी धरौटीमा छुटे

सालिन आत्महत्या घटनाका तीनै आरोपी धरौटीमा छुटे

चितवन :  सालिन पोखरेल आत्महत्या घटनामा पक्राउ परेका विद्यालय प्रधानाध्यापकसहित तीन जना धरौटीमा छुटेका छन्। मङ्गलवारको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

चितवनको रत्ननगरको शिशु निकेतनको छात्रावासमा बस्दै आएकी  पोखरेल होस्टलको कोठामा मृत फेला परेपछि परिवारका सदस्यले पहिला बलात्कारपछि हत्याको दाबी गर्दै जाहेरी दिएका थिए।

पोस्टमार्टम रिपोर्टमा ती दुवै दाबी देखिएन। मृत्युको कारण आत्महत्या देखिएपछि पुन अभियोग बदलेर आत्महत्या दुरुत्साहन बनाइएको थियो। सुसाइड नोटको परीक्षणमा सो पोखरेलले लेखेको पुष्टि भएको थियो।

मङ्गलवारको आदेशसँगै प्रधानाध्यापक बालहरि देवकोटा तीन लाख र सह प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा ५/५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

फागुन १२ गते सालिन होस्टलमा मृत फेला परेपछि उनको परिवारका सदस्यले बलात्कार र हत्याको दाबी गर्दै पक्राउ गर्न दबाब बढाएपछि चितवन प्रहरीले बिद्ध्यालयका तीन जनालाई पक्राउ गरेको थियो।

सालिनका बुबा आमा डिभोर्स गरेर अलग बस्दै आएका थिए भने उनको पालनपोषण मामाहरूले गर्दै आएका थिए। सालिन घटनालाई केहीले निर्मला पन्तको घटनासँग जोडेर समाजमा उत्तेजना फैलाउने प्रयास समेत गरेका थिए।

६ चैत, २०८०, २२:५२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।