‘गुणस्तरीय शिक्षा भनेको अङ्ग्रेजी बोल्न आउनु र राम्रो अंक ल्याउनु मात्रै होइन’

‘गुणस्तरीय शिक्षा भनेको अङ्ग्रेजी बोल्न आउनु र राम्रो अंक ल्याउनु मात्रै होइन’

काठमाडौं : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा बिग्रियो भने भविष्य नै प्रभावित हुने बताएका छन्।

आज काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा पुरस्कार वितरण कार्यक्रममा उनले पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा भएको भन्दै गुणस्तरीय शिक्षाको लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताए।

उनले भने, ‘हामीले विकासको कुरा गर्दा पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा हो। यसलाई मुख्य पूर्वाधार मानेर जनतालाई सर्वसुलभ तरिकाले गुणस्तरीय शिक्षा दिन जुन प्रकारको लगानी गर्नुपर्छ, त्यहाँ देखि नै हाम्रो केही कमजोरीहरू छन्। पहिलो प्राथमिक लगानी शिक्षामा हुनुपर्छ किनभने यो क्षेत्र बिग्रियो भने समाज ध्वस्त हुन्छ, अरु भनेको यो वर्ष सडक बनाउन नसके अर्को वर्ष बनाउँदा पनि हुन्छ। तर शिक्षा बिग्रियो भने हाम्रो भविष्य मै प्रभाव पर्छ।’

उनले भौतिक संरचनाले मात्रै शैक्षिक संस्थाहरू नचल्ने भन्दै शिक्षालाई गुणस्तरीय र जीवन उपयोगी बनाउनु पर्ने बताए।

नेपाली शिक्षा प्रणाली विद्यार्थीहरूलाई मेसिन बनाउने हिसाबको भएको भनेर आलोचना गर्दै उनले भने, ‘भौतिक संरचनाले मात्रै हो र शैक्षिक संस्थाहरू चल्ने, अनि गुणस्तरीय शिक्षा भनेको अङ्ग्रेजी बोल्न आउनु र राम्रो अंक ल्याउनु मात्रै होइन नि, हामीले यो परिभाषालाई पनि परिवर्तन गर्नुपर्छ। शिक्षा भनेको जीवन उपयोगी हुनुपर्छ, पूर्ण जीवनको लागि हुनुपर्छ। तर हाम्रो शिक्षा दुइवटा कुरामा केन्द्रित हुन थालेको छ। कसरी जागिर राम्रो खाएर जीवनयापन गर्ने भन्ने तर्फ केन्द्रित हुन थालेको छ।’

६ चैत, २०८०, १८:२६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।