नर्स हत्या प्रकरण : साथीलाई विभत्स तस्बिर पठाएर सम्पर्कविहीन रहेका ‘प्रेमी’ खोज्दै प्रहरी

नर्स हत्या प्रकरण : साथीलाई विभत्स तस्बिर पठाएर सम्पर्कविहीन रहेका ‘प्रेमी’ खोज्दै प्रहरी

विराटनगर : आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एक जना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका-४ स्थित घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन्।

घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको छ। सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन्।

उनको हत्यामा कसको संलग्नता रहेको छ भन्ने यकिन भइसकेको छैन। अनुसन्धानका क्रममा ती नर्सका प्रेमीको संलग्ता रहेको हुन सक्ने आशंका गरिएको छ।

घटनापछि उनका प्रेमी भनिएका सिरहाका अमिन नामका युवक सम्पर्कविहीन छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ। उनका साथीहरूले ती युवक दासका प्रेमी भएको जानकारी गराएका थिए।

विभिन्न प्रसङ्गहरूका कारण घटनामा युवतीका प्रेमी संलग्न भएको हुनसक्ने प्रहरी अनुमान छ। प्रेमी भनिएका अमिनको मोबाइल नम्बरबाट ती नर्सका साथीलाई म्यासेज गरिएको पाइएको छ। म्यासेजमा आफूले हत्या गरेको उल्लेख गर्दै विभत्स अवस्थाको नर्सको शवको फोटो पनि पठाइएको प्रहरीको भनाइ छ।

दास बसेकै घरमा रहेका उनका साथीहरू पनि नर्स हुन्। ह्वाट्एपको माध्यमबाट आफूलाई त्यस्तो म्यासेज आएपछि उनीहरूले घरधनीलाई जानकारी गराएका थिए। त्यसपछि घटनाबारे प्रहरीमा सूचना पुगेर घटनास्थलको अवस्था अध्ययन भएको थियो। त्यस क्रममा घरका मानिसहरू र उनका साथीहरूसँग सोधपुछ गरिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्नसक्ने अवस्था नरहेको भन्दै उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे।

पोस्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अघि बढ्दै जाँदा सत्यतथ्य खुल्ने उनले बताए। घटनामा संलग्न व्यक्ति चाँडै पत्ता लगाइने उनको प्रतिबद्धता छ।

३ चैत, २०८०, १३:१२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।