दाइजोमा सुनको सिक्री नदिएपछि बिहे रद्द गर्ने ५ जना सार्वजनिक, अघि बढ्दै कारबाहीको प्रक्रिया

दाइजोमा सुनको सिक्री नदिएपछि बिहे रद्द गर्ने ५ जना सार्वजनिक, अघि बढ्दै कारबाहीको प्रक्रिया

काठमाडौं : दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह रद्द गर्ने बेहुलासहित पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले पाँचै जनालाई सार्वजनिक गरेको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर-२४ रामगढवामा गए राती वैवाहिक कार्यक्रम चलिरहेकै समयमा सुनको सिक्री नपाएको भन्दै बेहुला पक्षले विवाद निकालेका थिए। विवाह छोडी जाने मौखिक धम्कीपछि वडा प्रहरी श्रीपुरले बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-४ का २८ वर्षका उमेश साह गोढ, बेहुलाका बुवा बच्चालाल साह, दाजुहरू राकेश साह र मुकेश साह, भिनाजु बाराको परवानीपुर गाउँपालिका वडा नं-५ बस्ने रामएकबाल साह रहेका छन्।

दाइजोमा  सुनको सिक्री नपाएपछि उमेश र वीरगन्ज-२४ रामगढवाका सुखल साहकी छोरी रमिता कुमारीको बिहे नै भाँडिएको थियो।

बिहे चल्दै गर्दा बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि बेहुला पक्षका ५ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिए।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय राखी जिल्ला अदालत पर्साबाट विवाह सम्बन्धी कसुरमा २ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

२९ फागुन, २०८०, २१:१९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।