‘प्रचण्डले गठबन्धन फेरेर राम्रो काम गर्नुभएको छ, उहाँको विरोधमा नबोल्नू’

‘प्रचण्डले गठबन्धन फेरेर राम्रो काम गर्नुभएको छ, उहाँको विरोधमा नबोल्नू’

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन परिवर्तन गरेर राम्रो काम गरेको बताएका छन्।

मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले अहिले प्रचण्ड नेतृत्व सरकारको विकल्प नभएको बताए।

‘पहिले पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ। ठूला-ठूला गल्ती उहिलेको कुरा हो,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले राम्रो काम गर्नुभएको छ। एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ।’

ओलीले देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिए।

‘दिल खोलेर। मनको कुनामा कुनै हिचकिचाहट नराखेर विश्वासको मत दिन्छौं,’ उनले भने, ‘विश्वास छ भन्ने पक्षमा मतदान गछौँ। यो पार्टीको तर्फबाट आदेश, निर्देश हो।’

कि त प्रचण्ड नेतृत्वको समीकरणले जित्ने वा नेपाली कांग्रेसको अल्पमतको सरकार बन्ने अवस्था रहने बताए। त्यसैले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिए।

अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारको आलोचना नगर्न पनि निर्देशन दिएका छन्। उनले कुनै कुरा प्याट्ट बोल्न नराम्रो हुने भएकाले त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन सकिने बताए।

उनले भने, ‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन। सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ। नबुझीकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ।’

२९ फागुन, २०८०, १७:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।