साफ यू-१६ महिला च्याम्पियनसिप : घरेलु मैदानमा १० गोल खाएपछि नेपालको यात्रा टुंगियो

साफ यू-१६ महिला च्याम्पियनसिप : घरेलु मैदानमा १० गोल खाएपछि नेपालको यात्रा टुंगियो

काठमाडौं : लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १०-० गोलको हार बेहोर्दै नेपालले साफ यू-१६ महिला च्याम्पियनसिपको यात्रा टुङ्ग्याएको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १० गोल को हार ब्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ।

आजको खेलमा पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो।

तेस्रो मिनेटमा अनिता ढुङ्डुङले गोल गर्दै भारतलाई अग्रतामा राखेकी थिइन्। पर्ल फर्नान्डेजले १३ औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन्।

२२ औँ मिनेटमा अनुस्का कुमारी भारतका लागि तेस्रो गोल थपिन्। २५ औँ मिनेटमा बोनिफिला सुल्लाईको गोलमा भारतले अग्रता ४-० मा पुर्यायो।

३३ औँ मिनेटमा गुरलिन कौरले गोल गर्दै भारतको अग्रतालाई ५-० मा पुर्याइन्। ४४ औँ मिनेटमा पर्ल फर्नान्डेज दोस्रो गोल गरेपछि भारतले पहिलो हाफमै ६-० को अग्रता बनाएकी हुन्।

दोस्रो हाफको सुरुआतमै नेपालकी मिनमाया श्रेष्ठबाट आत्मघाती गोल उपहार पाएपछि भारतले अग्रतालाई ७-० मा पुर्यायो।

५८ औँ मिनेटमा गुरनाज कौरले गोल गर्दै भारतलाई ८-० को अग्रतामा राखिन्। ७७ औँ मिनेटमा गुरलिन कौरले दोस्रो गोल गरेपछि भारतले अग्रतालाई ९-० मा पुर्याएको थियो। त्यसको अर्को मिनेटमा नै रेहाना लिज जाकोबले गोल गर्दै भारतको अग्रतालाई १०-० मा पुर्याइन्।

नेपाललाई हराएर दोस्रो जित हात पारेको भारतले फाइनलमा स्थान बनाएको छ। भारतले उपाधिका लागि आइतबार बंगलादेशसँग खेल्ने छ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ। 

नेपालले पहिलो खेलमा बंगलादेशसँग २-० को हार व्यहोरेको थियो। नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले हराएको थियो।

२४ फागुन, २०८०, १७:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।