गठबन्धन टुटेकोमा खुशी छु  :  डा. शशांक कोइराला

गठबन्धन टुटेकोमा खुशी छु  :  डा. शशांक कोइराला

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताएका छन्। कसैको आर्शिवादमा गठबन्धन टुटेको उनको संकेत थियो।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए। उनले कांग्रेस सँधै एक्लै लड्नुपर्ने औंल्याए।

उनले भने, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो। प्रचण्ड र ओलीज्यूले पहिला गठबन्धन गर्नुभयो। फेरि हामीतर्फ आउनुभयो। मलाई लाग्छ यो एउटा बरदान हो। अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ।’

उनले अगाडि भने, ‘प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ। गठबन्धन टुटेकोमा म खुसी मात्र छैन, कसैको आर्शिवाद पाएको हो कि भन्ने लागेको छ। मेरा लागि यो लुकेको एउटा खुसी चाही हो।’

उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए।

उनले थपे, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुँदैन। विगतमा जसरी मिलेका थियौं त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ। हामीले स्थापना गरेको कम्युनिष्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन्।’

२४ फागुन, २०८०, १३:२९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।