बागमतीको सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीले दिए राजीनामा

बागमतीको सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीले दिए राजीनामा

मकवानपुर : नेपाली कांग्रेसका मन्त्रीहरू बागमती प्रदेशको सरकारबाट बाहिरिएका छन्। केन्द्रमा गठबन्धन बदलिएसँगै प्रदेशमा माओवादी नेतृत्वमा सहभागी भएका कांग्रेसका ६ मन्त्रीले बुधवार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर सामूहिक राजीनामा बुझाए।

बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा थिए।

बागमतीको प्रदेश सरकारमा रहेका स्वास्थ्य मन्त्री उत्तम जोशी र बन मन्त्री मसिना खड्का स्वास्थ्य उपकरण खरिदमा जोडिएर विवादित थिए। मन्त्री जोशीले त्रिशूली अस्पतालको सिटी स्क्यान मेसिनको स्पेशिफिकेशन लक्ड गरेर मसिनाको पारिवारिक सदस्य यज्ञ भण्डारीको कम्पनीलाई टेन्डर पार्न सहजिकरण गरेका थिए। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै समर्थन समेत फिर्ता भएको छ। कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

२३ फागुन, २०८०, १८:५०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।