गठबन्धन बन्नु र तोडिनु सामान्य, तर सोमबारको घटना असामान्य : नेता कोइराला

गठबन्धन बन्नु र तोडिनु सामान्य, तर सोमबारको घटना असामान्य : नेता कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रसँगको गठबन्धन पार्टीलाई महंगो साबित भएको प्रतिक्रिया दिएका छन्।

माओवादी केन्द्र र  एमाले सम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाले मंगलबार विहान सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

राजनीतिमा गठबन्धन बन्नु र तोडिनु सामान्य भए भनी सोमबारको घटना सामान्य नभएको उनको भनाइ छ।

‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो। तर, हिजोको घटना सामान्य होइन,’ उनले फेसबुक र एक्समा लेखेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महंगो साबित भयो।’

नेता कोइरालाले सत्ता गठबन्धन तोडिनुमा कांग्रेसका नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशङ्का समेत व्यक्त गरेका छन्।

‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौँ’, उनले लेखेका छन्।

माओवादी केन्द्र र अन्य दलहरूसँग गठबन्धन गर्नेबारे कोइराला पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका थिए। उनले निर्वाचनअघि गठबन्धन गरिनु नहुने धारणा राख्दै आएका थिए।

निर्वाचनपछि त्यसको परिणामका आधारमा सरकार गठन र सञ्चालनका लागि गठबन्धन गर्नेबारे सोच्न सकिने भन्दै उनले निर्वाचनमा भने पार्टी एक्लै जानुपर्नेमा जोड दिँदै आएका थिए।

२२ फागुन, २०८०, १३:२०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।