साफ यू-१६ महिला फुटबल : दोस्रो खेलमा नेपालको सहज जित, भुटान ३-० गोलले पराजित

साफ यू-१६ महिला फुटबल : दोस्रो खेलमा नेपालको सहज जित, भुटान ३-० गोलले पराजित

काठमाडौं : साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको छ।

घरेलु मैदानमा नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाएकी थिइन्।

पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाइन्।

त्यस्तै, खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट गोल गरेकी हुन्। डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको हो।

खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर गुमायो।

दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न नसकेपछि भुटानविरुद्व नेपालले सहज जित निकालेको हो। नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको थियो।

यता, भुटान भने पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको थियो।

जितसँगै नेपालले तीन अंक जोड्यो। भारत र बंगलादेशले पनि समान तीन अंक बटुलेका छन्।

चार टिम सम्मिलित राउन्ड रोबिनको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपालको फाइनल सम्भावना कायम रहेको छ।

प्रतियोगिताको फाइनल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ।

 

 

२१ फागुन, २०८०, १८:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।