चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलन : सत्तारूढ दलभित्रै असन्तुष्टी, अनावश्यक बजेट छुट्याइएको एमालेको आरोप

चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलन : सत्तारूढ दलभित्रै असन्तुष्टी, अनावश्यक बजेट छुट्याइएको एमालेको आरोप

बुटवल : लुम्बिनीमा हुन लागेको ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्र्स चौथो शिखर सम्मेलन’ को आयोजनालाई लिएर सत्तारुढ दलभित्र चर्को असन्तुष्टि देखिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निजी स्वार्थमा सम्मेलन गर्न लागेको भन्दै सत्ता साझेदार दलभित्र असन्तुष्टि देखिएको हो। प्रमुख प्रतिपक्ष दल एमालेले पनि सदनबाटै सम्मेलनको उद्देश्य स्पष्ट गर्न माग गरेको छ।

शान्तिभूमि लुम्बिनीलाई विश्वव्यापी चिनाउने भन्दै प्रदेश सरकारको आयोजनामा फागुन २८ र २९ गते लुम्बिनीमा शिखर सम्मेलन हुँदैछ। यसअघि सम्मेलन मार्च १० (फागुन २७) देखि गर्ने भनिएको थियो। तर, मितिको विषयलाई लिएर विवाद भएपछि सरकारले मार्च ११ अथार्त फागुन २८ गतेदेखि सम्मेलन गर्न लागेको हो।

कार्यक्रमको उद्घाटन तिब्बती धर्मगुरु दलाई लामाले चीन विरुद्ध विद्रोह गरेकै दिन (दलाई लामाको राष्ट्रिय विद्रोह दिवस) मार्च १० नै राखिएपछि यसबारे प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रश्न उठाएका थिए।

‘लौरिएट्स एन्ड लिडर्स’ अन्तर्राष्ट्रिय गैरिसरकारी संस्था हो। यसको संचालक भारतीय कैलाश सत्यार्थी हुन्, जो दलाई लामाका निकट व्यक्ति मानिन्छन्।

स्रोतका अनुसार यो सम्मेलनमा ९ जना नोवेल पुरस्कार विजेताका अलावा तिब्बती धर्मगुरु लामा पनि आउने कार्यक्रम थियो। तर यसबारे अन्य देशले चासो राखेपछि लामा लुम्बिनीको सम्मेलनमा नआउने भएका हुन्।

सभामुख घर्तीले मुख्यमन्त्री चौधरीले चलाखीपूर्ण तरिकाले ६ करोड ५० लाख बजेट सम्मेलनका लागि विनियोजन गरेको भन्दै अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नुपर्ने आवश्यकता र उद्देश्यबारे स्पष्ट पार्नुपर्ने बताए।

सम्बन्धित समाचार : चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको महाकुम्भ लुम्बिनीमा, ९ जना नोबेल पुरस्कार विजेताहरू आउँदै

उनले कार्यक्रमको नाम लोरेट्स एण्ड लिडर्स राखेकोप्रति समेत आपत्ति जनाएका छन्। लिडर्सको कार्यालय अमेरिका छ। उनले गौतम बुद्धकै जन्मभूमि नै महाशक्ति राष्ट्र अमेरिकाको रोजाई किन पर्यो भनेर प्रश्न गरेका छन्। लोरेट्स एण्ड लिडर्स कार्यक्रमको रणनीतिक र सामरिक महत्वबारे सदनमा औपचारिक जानकारी हुनुपर्ने उनले बताए।

एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले लुम्बिनीलाई कुनै पनि ब्राण्डिङ आवश्यकता नभएको बताए।

‘लुम्बिनी, सगरमाथा, पशुपतिलाई अब ब्राण्डिङ गर्नु पर्दैन। लुम्बिनीलाई ब्राण्डिङ गर्न भन्दै यो सम्मेलन गरिनु जनतालाई झुक्काएर बजेट खर्च गर्नु हो,’ उनले भने।

उनले सम्मेलनबारे मुख्यमन्त्री चौधरीले कसैसँग पनि छलफल नगरेको बताए।

‘एन्जीओको कार्यक्रम हो। मुख्यमन्त्रीज्यूले सरकारलाई पनि एन्जीओ तरिकाले चलाउनुभएको छ। हामीसँग सल्लाह भएको छैन। एक्लै लाग्नुभएको छ। हामीले यसबारे जानकारी मागेका छौं,’ उनले भने।

शिखर सम्मेलनमा लुम्बिनीको ‘ब्राण्डिङ’ बाहेक अर्को कुनै उद्देश्य छैनः मुख्यमन्त्री 

मुख्यमन्त्री चौधरीले भने शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्यले आयोजन गर्न लागेको बताएका छन्। सम्मेलनबारे राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट भएको टिका-टिप्पणीबारे प्रष्ट्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनीको प्रचारप्रसार बाहेक अन्य कुनै पनि गलत उद्देश्य नरहेको दाबी गरेका हुन्।

शनिबार बुटवलमा पत्रकारसँगको अन्तरक्रियामा शिखर सम्मेलनबाट कुनैपनि छिमेकी राष्ट्रलाई असर पर्ने गतिविधि हुन नदिने प्रतिवद्धता गरे।

‘हामी पञ्चशिलको सिद्धान्त अनुसार चल्छौं, कुनै पनि छिमेकी राष्ट्रलाई असर गर्ने हाम्रो उद्देश्य होइन,’ मुख्यमन्त्री चौधरीले भने।

उनले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पुर्याउने बताए।

सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको छ। सम्मेलनमा ३०० जना विज्ञहरू सहभागी हुनेछन्। त्यस्तै, विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ।

१९ फागुन, २०८०, १७:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।