चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको महाकुम्भ लुम्बिनीमा, ९ जना नोबेल पुरस्कार विजेताहरू आउँदै

चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको महाकुम्भ लुम्बिनीमा, ९ जना नोबेल पुरस्कार विजेताहरू आउँदै

बुटवल : यही फागुन २७ देखि २९ गतेसम्म विश्व शान्तिको मुहान लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’को तयारी तीब्र गतिमा अघि बढेको छ। सम्मेलनमा विश्वका ९ जना नोबेल पुरस्कार विजेताहरूको सहभागिता हुने निश्चित भए सँगै सम्मेलनको तयारी तीब्र पारिएको हो।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा नोबेल पुरस्कार विजेताहरूका अलावा विभिन्न देशका २ सय भन्दा बढी विकास साझेदारहरू सहभागी हुनेछन्।

प्रदेश सरकारले यो सम्मेलनलाई पर्यटनको क्षेत्रमा नयाँ कडीका रुपमा समेत हेरेको छ।

बालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनका लागि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा १३ सदस्यीय व्यवस्थापन समिति बनाएर तयारीका काम भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीले जनाएको छ।

शिखर सम्मेलनमा सन् २०१४ को नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित विभिन्न राष्ट्रका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू सहभागी हुने लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए। त्यसबाहेक शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवालाहरूको समेत उपस्थिति हुने उनको भनाई छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अहिले प्रचारप्रसार सँगै निमन्त्रणाको काम भइरहेको बताए।

‘अतिथिहरूलाई कसरी राख्ने भन्ने प्रबन्ध मिलाउने काम भएको छ। कार्यक्रम स्थलमा सरसफाइदेखि निमन्त्रणाको काम पनि भइरहेको छ, उनले भने।

उनले यो सम्मेलनले लुम्बिनी क्षेत्रको महत्व विश्वका धेरै देशहरूमा दर्साउने र पर्यटन प्रवर्द्धन एवं विकास साझेदार भित्र्याउन भूमिका खेल्ने दाबी गरे। उनले लुम्बिनीको विकासका लागि विश्वको ध्यानाकर्षण वृद्धि गर्ने विश्वास समेत व्यक्त गरे।

सम्मेलनमा को-को आउँदैछन्?

सम्मेलनमा सन् १९९६ का नोबेल पुरस्कार विजेता टिमोर लेस्टेका राष्ट्रपति जोजे रामोस ओर्टा, सन् १९९७ का विजेता जोडी विलियम्स रहेका छन्। त्यस्तै, २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कम्र्यान पनि लुम्बिनी आउनेछन्।

सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेशनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुई सँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबट्र्स (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल (२०१३) पनि लुम्बिनी आउँदै छन्।

त्यसैगरी, शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ लगायतको पनि सहभागिता रहने मुख्यमन्त्री कार्यालयका सचिव एवं सम्मेलनका संयोजक सुमन घिमिरेले बताए।

उनीहरू साहित्य, शान्ति, भौतिक, रसायन, क्रियाविज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेखनीय योगदान पुयाएका व्यक्तिहरू भएको संयोजक घिमिरेको भनाइ छ। उनका अनुसार सम्मेलनमा बालविवाह न्यूनीकरण, हिंसा, बालश्रम रोक्ने विषमा गम्भीर बहस तथा छलफल हुनेछ।

सम्मेलनलाई साढे ६ करोड बजेट

लुम्बिनी प्रदेशमा यो सम्मेलनले लगानीका नयाँ-नयाँ क्षेत्रको सम्भावना उजागर गर्ने विश्वास प्रदेश सरकारले लिएको छ।

प्रदेशको विकास, सम्भावना, स्रोतको व्यवस्थापनका लागि उक्त सम्मेलनमा विकासोन्मुख राष्ट्रका प्रतिनिधि सँगै नीतिगत छलफल समेत हुने भएकाले यो सम्मेलनबाट प्रदेश सरकारले धेरै लाभ लिने विश्वास गरिएको छ।

लुम्बिनी स्थित ५ हजार क्षमताको ठूलो सभाहलमा हुने सम्मेलनमा विश्वका २ सय विशिष्ट व्यक्तित्वहरूका साथ नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका विशिष्ट व्यक्तिको उपस्थिति रहने बताइएको छ।

यो सम्मेलनका लागि प्रदेश सरकारले साढे ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सम्मेलनमा सहभागी अतिथिहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पा, तिलौराकोट, र अर्घाखाँचीसम्म लैजाने तयारी गरिएको छ।

कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको लागि प्रदेश युवा परिषद्ले काम गरिरहेको छ।

५ फागुन, २०८०, १७:४६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।