सुर्खेत काण्डमा सिकारु सुटर र सहयोगीलाई उधारोमा हत्याको ठेक्का , खुँडा काण्डसँग जोडियो हत्या योजना

सुर्खेत काण्डमा सिकारु सुटर र सहयोगीलाई उधारोमा हत्याको ठेक्का , खुँडा काण्डसँग जोडियो हत्या योजना

सुर्खेत : वीरेन्द्रनगर–१ का ३९ वर्षीय विनोद गिरीलाई गोली हानेर हत्या योजनाका योजनाकारले भारतदेखि नेपालसम्मका सिकारुहरुलाई पैसा दिने प्रलोभनमा पारेर उधारोमा काम लगाएको खुलेको छ। प्रहरी अनुसन्धानमा हत्याका योजनाकारहरुले आर्थिक अवस्था कमजोर भएकाहरु खोजेर गोली चलाउने लगायतका तालिम दिएर हत्या योजनामा संलग्न गराएको खुलेको हो।

फागुन १२ गते साँझ साढे आठ बजे वीरेन्द्रनगर– ३ स्थित गैरीगाउँमा  गिरीलाई गोली हानेर मार्ने प्रयास भएको थियो। उनी चढेको कारलाई पिछा गर्दै भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएको सुटर टिमले गोली चलाए पनि बाइक र गाडी एक आपसमा ठोक्किदा गिरीको ज्यान जोगिएको थियो। गोली हान्ने सुटर र बाइक चालक सडकमा बजारिएपछि उनीहरूलाई विनोदका साथीहरूले तत्काल समात्न सफल भएका थिए।

प्रहरीले फागुन १३ गते घटना संलग्न भारतीय सुटरसहित घटनामा संलग्न चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। प्रहरीले उनीहरूमाथि हातहतियार खरखजना र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्दै अनुसन्धानका लागि जिल्ला अदालत सुर्खेतबाट सात दिनको थप गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले अनुसन्धानलाई प्रभावित हुने भन्दै घटनाका मुख्य योजनाकारहरूलाई सशङ्कित मात्र भनेर उल्लेख गरेको थियो। प्रहरीले हालसम्म मुख्य योजनाकारको परिचय खुलाएको छैन।

को हुन् सुटर र हत्यामा संलग्न व्यक्ति ?

रोहित राजपूत, सुटर

भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत विनोद हत्या योजनाका मुख्य सुटर हुन्। उनलाई दुई लाख रुपैयाँमा विनोदको हत्या गर्ने जिम्मा दिइएको अनुसन्धानमा खुलेक छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजपूत एक निम्न वर्गीय परिवारका सदस्य हुन्। उनको घरमा आमा, दुई भाइ र एक बहिनी गरी पाँच जनाको परिवार छ। घरमा उनकी आमा दिर्घरोगको बिरामी छिन्। उनी स्थानीय एक ढावामा कुकको काम गर्थे। प्रहरी स्रोतका अनुसार उनी ‘प्रोफेसनल सुटर’ भने होइनन्। उनले प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको बयानमा आफूलाई घरको आर्थिक स्थितिले निकै च्यापेको र भाइबहिनीलाई पढाउने, आमाको उपचार गर्ने लगायतका खर्च धान्न कुकको कामले नपुग्ने भएपछि यो घटनामा संलग्न भएको बताएका छन्।

‘म एउटा सामान्य परिवारमा जन्मेको मान्छे हुँ। घरको सबै जिम्मेवारी म माथि छ । बुवा हुनुहुन्न। मैले काम गरेको पैसाले घर खर्च टार्न मुस्किल पर्छ। यसअघि मैले कुनै पनि आपराधिक घटना घटाएको र संलग्न भएको छैन,' उनले बयानमा भनेका छन्' यो घटनामा मलाई सुजित सिंहले दुई लाखको अफर दिएपछि राजी भएको हुँ। बन्दुक समेत देखेको थिइन। मलाई सुजितले नै बन्दुक दिएर चलाउन सिकाएका हुन्। काम सकेपछि मात्रै पैसा दिनेगरी सहमति भएको थियो।’ प्रहरीका अनुसार सुजित सिंह भनिने डम्बर बस्नेतले आफू पनि भारतीय भन्दै राजपूतलाई सबै जिम्मा आफूले लिने बताएका थिए।

उनले प्रयोग गरेको कटुवा पेस्तोल र उनको ब्याकग्राउन्डक आधारमा उनी ‘प्रोफेसनल’ सुटर नरहेको प्रहरीको दाबी छ।

योजनाका सहयोगी भरत

कैलालीको  गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय भरत भुल पनि विनोद हत्या योजनाका सहयोगी हुन्। उनले विनोद हत्याको योजनामा पैसाको बार्गेनिङ गर्नेदेखि सुटर र अन्य मुख्य योजनाकारहरूलाई भेटघाट गराउनेसम्मको काम गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उनी मालिका माध्यमिक विद्यालय चौमाला कैलालीमा कक्षा ११ मा अध्ययन गर्थे। उनको घरमा बुवा आमा र एक भाइ गरी चार जनाको परिवार छ। उनका बुवा आफ्नो दुई कट्ठा जमिनमा कृषिको काम गर्छन्। आमा दैनिक ज्याला  मजदुरी गर्छिन्।

उनले सरकारी वकिलसँगको बयानमा भनेका छन्, ‘मलाई सुजित सिंहले हत्याको योजना सुनाएर डेढ लाख दिने भनेपछि म राजी भएको हुँ। साथी इन्द्रलाई बाइक चलाउन सहजिकरण गर भनेको हुँ। उसले बाइक चलाएर सुटरलाई बोकेबापत डेढ लाख दुई जनाले बाँड्ने योजना बनाएका हौँ। काम सकेपछि मात्रै पैसा दिने सहमति भएको थियो। हामीले एक रुपैयाँ पनि पाएका छैनौँ।’

मोटरसाइकल चालक इन्द्र

कैलालीको गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय इन्द विक भरत भुलका साथी हुन्। उनी मालिका माध्यमिक विद्यालय चौमालामा कक्षा १२ मा अध्ययनरत छन्।

पाँच भाइ र एक दिदीमध्येका कान्छा हुन् इन्द्र।  विनोद हत्या योजनामा सुटरलाई मोटरसाइकलमा वीरेन्द्रनगर ल्याउने चालकको भूमिकामा इन्द्र थिए। उनी पनि भरतको सल्लाहमा यो योजनामा समावेश भएको प्रहरी अनुसन्धानले देखाएको छ।

उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘दाजुभाइ र दिदी सबैले विवाह गरेर छुट्टिएर बसेका छन्। मसँग बुवा आमा हुनुहुन्छ। उहाँहरू काम गर्न सक्नुहुन्न। सामान्य खेतीपाती गरेर साँझ बिहानको छाक टार्न पनि मुस्किल पर्छ। बुवा आमा पनि मसँग नै हुनुहुन्छ। भरतले सुर्खेतमा सुटरलाई बाइकमा ओसारेबापत ७५ हजार दिने भनेपछि यो घटनामा संलग्न भएको हुँ। सुटरसँग मेरो सुर्खेतमै भेट भएको हो। यसअघि म यस्ता घटनामा संलग्न थिइन।'

घटनामा संलग्नलाई होटेलमा बास बसाउने राजन

सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी सुटर, मोटरसाइकल चालक र योजनाका सहयोगीलाई सुर्खेतमा होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्ति हुन्।

उनले प्रहरी समक्ष गरेको बयानमा भनेका छन्, ‘म घरमा बसिरहेको बेला सन्तोष गिरीले मेरोमा टायल मार्बलको काम गर्ने कामदार सुर्खेत आएका छन्, उनीहरूलाई होटेलमा बास बस्ने व्यवस्था मिलाइदिनु भनेकोले मैले बासको व्यवस्था मिलाएको हुँ ।’

उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो। उनीसँग भएको मोबाइल प्रहरीले ल्याए पनि सिम भाँचिसकेका थिए। उनले प्रहरीमा बयान बदलेका छन्।

अनुसन्धानमा विनोद र उनीबिच पुरानै विवाद देखिन्छ। २०२४ को नयाँ वर्षको अघिल्लो रात विनोदको समूहले राजनलाई कुटपिट गरेको विषय उनले आफ्ना साथीहरूलाई बताउँदै आएका थिए। त्यसको बदला लिने दाउमा थिए राजन थिए।  त्यति मात्रै होइन, २०७८ भदौ ११ गते सन्तोष गिरीमाथि खुँडा प्रहार भएको घटनापछि पनि राजन सन्तोषको पक्षमा उभिँदै आएका थिए।

त्यसअघि राजन, सन्तोष र विनोद एउटै समूहमा थिए। राजन सानातिना झैँ झगडामा धेरै पटक प्रहरी हिरासतमा बसिसकेका व्यक्ति हुन्।

हत्याको योजनाकार को हुन्?

गोली हानेर हत्याको प्रयासमा परेका गिरी, नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दल सुर्खेतका सदस्य हुन्। तर, उनी राजनीतिक भन्दा पनि निर्माण र काठ व्यवसायीको रूपमा परिचित छन्। उनी ठेक्कापट्टामा संलग्न छन्।

घटनाको कारण व्यवसायीक देखिएको छ । विनोदको हत्या प्रयासमा संलग्नहरू पक्राउ गरे पनि प्रहरीले योजनाकारबारे केही सार्वजनिक गरेको छैन।

अनुसन्धान स्रोत यो घटना हुनुको मुख्य कारण २०७८ भदौ ११ को घटनामा जोडिएको बताउँछ।

विनोद हत्याको मुख्य योजनाकारका रूपमा सन्तोष गिरी, सुजित सिंह भनिने डम्मर बस्नेत र भरत पाण्डे रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उकेरालाई बतायो। सन्तोष पनि ठेक्कापट्टा गर्ने व्यवसायी हुन्। डम्मर लागू औषध ड्रग्सको मुद्दामा एक वर्षअघि मात्रै सजाय पाएर कारागार मुक्त भएका व्यक्ति हुन्। भरतले वीरेन्द्रनगरमै यातायात समितिमा काम गर्थे। 

‘यो घटनामा विनोद र सन्तोषको पुरानो रिसिइबी छ,  सन्तोषले हत्याको योजना बनाएको देखिन्छ। त्यसपछि सुजित भनिने डम्मरले भारतीय सुटर र कैलालीका दुई जनालाई सम्पर्क गरेर योजना अगाडि बढाएको स्रोतको दाबी छ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनीहरूको मोबाइल कल लोकेसन र कल डिटेल रेकर्डमा सन्तोष, डम्बर, भरत र राजनको कनेक्सन देखिएको छ।

उनीहरू तीनै जना फरार छन्। उनीहरूको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र परिचालन गरेको छ।

 ‘उनीहरू प्रोफेसनल सुटर पनि होइनन्, आर्थिक प्रलोभनमा परेर घटनामा संलग्न भएको देखिन्छ,’अनुसन्धान अधिकारीले भने, ‘प्रोफेसनल सुटरले यति थोरै रकममा काम नै गर्दैन। त्यो पनि उधारोमा। प्रोफेसनलले त अगाडी नै आधा रकम माग्ने गरेको देखिन्छ। यसमा त्यस्तो देखिएन।’

के थियो रिसीइबी ?

२०७८ भदौ ११ मा साँझ ६ मा वीरेन्द्रनगरको कालिन्चोकमा पाँच जनाको समूहले सन्तोष गिरीलाई खुँडाले हानेका थिए। सन्तोषले आफूमाथि विनोदले आक्रमण गर्न लगाएको दाबी गरेका थिए।

सन्तोषले सुशील रावल, महेश खत्री, सुनिल वादी, रिपेस मस्र्याङी, गगन बुढा, रुपेस सेन ठकुरी र हेमन्त नेपालीको नाम किटान गरेर जाहेरी दिएका थिए। उनले विनोद गिरीलाई मुख्य योजनाकारको रूपमा उल्लेख गरेका थिए। तर, विनोदले आफू यो घटनामा संलग्न नरहेको भन्दै सन्तोषलाई मिल्न अनुरोध गर्दै आएका थिए।

प्रहरीले सुनिल वादी र रिपेश मस्र्याङीलाई पक्राउ गरेको थियो। सुनिल वादी पुर्पक्षका लागि थुनामा गए भने रिपेश एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

त्यसअघि विनोद र सन्तोष एउटै समूहमा थिए। उनीहरू दुवै जना तरुण दलको राजनीतिमा पनि थिए। निर्माण व्यवसाय र काठको ठेक्कापट्टा उनीहरू दुवै जना मिलेर गर्थे। तर, एकाएक उनीहरू दुवैबिचको सम्बन्धमा दरार आए पनि नेपाली कांग्रेसका जिल्ला नेतृत्वहरुले समेत बसेर झगडा सुल्झाउन प्रयास गरेका थिए। तर, उनीहरुबीच पैसा लेनदेनमा कुरा नमिल्दा सहमति हुन नसकेको नेपाली कांग्रेस निकट स्रोत बताउँछ।

‘उनीहरुबीचको झगडा मिलाउन हामीले धेरै प्रयास गर्यों। तर लेनदेनमै कुरा मिलाउन सकिएन,’कांग्रेस सुर्खेतका एक सदस्यले भने, ‘उनीहरूको मुख्य जड भनेकै व्यवसायीक विषय हो। त्यही कुरा नमिल्दा घटनाले ठुलो रूप लिएको हो।’

घटनामा संलग्न देखिएका अन्य व्यक्तिहरूको पहिचान देखिए पनि उनीहरू फरार रहेका कारण उनीहरूलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले बताए।

‘चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ। यसका मुख्य योजनाकार पनि पत्ता लगाइसकेका छौँ,’डिएसपी शाहीले भने, ‘अनुसन्धान प्रभावित नहोस् भनेर हामीले पहिचान खुलाएका छैनौँ। हामी उनीहरू नजिक पुगिसकेका छौँ। केही दिनमा अनुसन्धान सफल हुन्छ।’

१९ फागुन, २०८०, १७:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।