पर्दाभित्रको राजनीति : प्रचण्ड खुशी पार्न महासमिति निर्णय सच्याउँदै देउवा, विश्वप्रकाशले रोल्पाको प्रसङ्ग निकाल्दा गगन मौन

पर्दाभित्रको राजनीति : प्रचण्ड खुशी पार्न महासमिति निर्णय सच्याउँदै देउवा, विश्वप्रकाशले रोल्पाको प्रसङ्ग निकाल्दा गगन मौन

काठमाडौं : सरकार निर्माणमा गठबन्धन गरेका प्रमुख दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सम्बन्धमा खटपट शुरू भएको छ।

‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खायो’ भन्ने उक्ति झैँ यी दुई दलहरू आपसमा प्रत्यक्ष संवाद गरेर स्पष्ट हुनमा भन्दा सार्वजनिक टिकाटिप्पणीमा रमाइरहेका देखिन्छन्।

मनको बाघसँग तर्सिएर गठबन्धन नै संकटमा परिसकेको भान हुनेगरी दुई दलका नेता तिक्तता विस्तारमा सक्रिय भएपछि संसदमा समेत त्यसको प्रभाव पर्न थालेको छ।

अपारदर्शी संवाद
पार्टीको महासमिति बैठकपछि सभापति शेरबहादुर देउवा र विधानसहित स्थायी समिति सकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्ना दलभित्र बलिया देखिएका छन्। कांग्रेसभित्र हुर्कँदै गएको चुनौतीलाई एकपटक फेरि पन्छाउन सभापति देउवा सफल भए। 

अध्यक्ष प्रचण्ड पनि विधान बैठकमा पार्टीभित्र आफ्नो विकल्प नभएको तर्क स्थापित गरेर परिवारका सदस्यहरूलाई राजनीति जिम्मेवारी सुम्पँदै ‘टिकाटिप्पणी, फरक मत र आलोचना’ हेडक्वाटरको रातो कार्पेटमुनि छोप्न सफल भए।

देउवा र प्रचण्ड त्यसपछि पनि संवादमा छन्। तर, उनीहरूको गुप्त संवादको विवरण सार्वजनिक भएको छैन। आसन्न राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा उनीहरूको सहकार्यले निरन्तरता पाउँछ कि टुटेर अर्कै नयाँ समीकरण बन्छ भन्ने प्रश्नको सहज जवाफ आइसकेको छैन। 

यो प्रश्नको जवाफ यी दुई नेताबाहेक अन्यबाट सम्भव छैन। सार्वजनिक रुपमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले गठबन्धन नटुट्ने दाबी गरिरहेका छन्। यदी उनीहरुको दाबी सत्य हो भने राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउने पक्का हो। नत्र उनीहरुको दाबी मित्थ्या हो। 

कांग्रेस र माओवादी केन्द्रका नेता तहमा भइरहेको बहसले पनि छुन नसक्ने स्थानमा पुगेका देउवा र दाहाल नै वर्तमान अन्योल चिर्न सक्ने निर्णायक भूमिकामा छन्। तर, उनीहरू भावी संसदीय निर्वाचनमा सहकार्य हुने कि नहुने भन्ने प्रश्नमा अल्झिएको देखिन्छ। 

को-किन तर्सियो ?
आगामी संसदीय निर्वाचनमा सहकार्य हुने कि नहुने भन्ने विषय नै कांग्रेस र माओवादी केन्द्र आपसमा तर्सिनु र सतर्क हुनाको मुख्य कारण देखिन्छ।  कांग्रेस महासमिति बैठकले आगामी संसदीय निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै प्रतिष्पर्धा गर्ने भनेर गरेको निर्णय सार्वजनिक भएसँगै माओवादी केन्द्रले समेत स्थायी समितिबाट त्यस्तै निर्णय गर्यो।  

कांग्रेस महासमितिको बैठकमा भएको बहसको आलोचनामा अग्नि सापकोटाबाट शुरू भएर जनार्दन शर्मा हुँदै स्थायी समितिको बैठकसम्म जारी रह्यो। अध्यक्ष प्रचण्ड स्वयं पनि खुलेर कांग्रेस महासमितिको निर्णय विरुद्ध उत्रिए।

प्रचण्डले राष्ट्रिय सभामा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समर्थन गर्ने पूर्व सहमति वर्तमान सन्दर्भमा बाध्यकारी हुननसक्ने बताएर राजनीतिको तरङ्गित तलाउमा उथलपुथल ल्याउने प्रयास गरे। प्रचण्डले नै मुख खोलेपछि  कांग्रेस शान्त रहने कुरै भएन।

प्रचण्डको भनाइलाई घुमाउरो पाराले जवाफ दिँदै कांग्रेस सभापति देउवाले राष्ट्रिय सभाको नेतृत्व आफ्नै पार्टीले पाउने भन्दै पार्टी पदाधिकारी र सदस्यहरूलाई ढुक्क रहन सान्त्वना दिइरहेका छन्। देउवा र दाहालको नियन्त्रणमा रहेको सहकार्यको निर्णय गर्ने दायित्व कुन-कुन राजनीतिक सौदाबाजीमा मिल्न पुग्ने हो, अहिले नै त्यसबारे स्पष्ट उल्लेख गर्नसक्ने कुनै आधार छैन।

प्रचण्डको गुनासो
अध्यक्ष प्रचण्डले टिप्पणी गरेका छन्, ‘भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठकले गरेको निर्णयमा पनि केही चिज आवश्यक नभएको जस्तो लाग्छ। गठबन्धन राम्रै गइराखेको थियो। राम्रो लाने कुरामा हामी प्रतिबद्ध थियौँ, छौँ। अहिले पनि जुन पार्टीको भोट, समर्थनबाट नेपाली कांग्रेस एक नम्बर पार्टी भएको त्यही पार्टीसँग गठबन्धन गर्दैनौँ भनेर अहिले बोल्नुपर्ने जरुरी के थियो? यसले पनि देशभर एउटा तरङ्ग पक्कै पनि पैदा गरेको छ।’

प्रचण्डले कांग्रेसको हैसियतमाथि नै प्रश्न उठाउँदै यस्तो टिप्पणी गरेपछि यता कांग्रेसका नेताहरु पनि मौन रहेनन्। अझ उनले कांग्रेस महासमिति बैठकमा धर्मनिरपेक्षता र ‘जनयुद्ध’ शब्दमा बहस गरेको प्रति पनि गुनासो गरे। धर्मनिरपेक्षताको विषयमा भएको चर्चा र जनयुद्धकै बारेमा भएको टिकाटिप्पणीलाई प्रचण्डले ‘बेमौसमको बाजा’ भनेका थिए।

फकाउँदै देउवा
माओवादी अध्यक्ष प्रचण्डको गुनासो र स्थायी समितिमा उठेका प्रश्नपछि सभापति देउवा फकाउने रणनीतिमा देखिन्छन्।आफ्नो निवासमा आएका केही नेताहरूसँगको असन्तुष्टि सुनेपछि देउवाले माओवादीको असन्तुष्टिबारे छलफल गरे।

त्यसपछि देउवा निकट नेताहरू माओवादीको गुनासो सम्बोधन गर्न हालै सम्पन्न पार्टीको महासमिति बैठकमा पेश भएको प्रतिवेदन परिर्माजन गर्नुपर्ने निष्कर्षमा पुगे।

महासमितिमा आएका सुझावका आधारमा प्रतिवेदनहरू परिमार्जनका लागि केन्द्रीय कार्यसमिति बैठक कहिले बोलाउने भनेर परामर्श गर्न सभापति देउवाले शीर्ष नेताहरूलाई बोलाएका थिए। उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र मुख्य सचिव कृष्ण पौडेलबीच छलफल भएपछि माओवादी फकाउने रणनीति अख्तियार गर्न देउवा तयार भएको देखिन्छ।

माओवादीको असन्तुष्टि र आसन्न राष्ट्रियसभा निर्वाचनमा आफ्नो उम्मेदवार उठाउने निर्णयबारे धेरैबेर छलफल गरेपछि सभापति देउवाले महासमितिले अनुमोदन गरिसकेको राजनीतिक निर्णय  सच्याएर अघि बढ्ने तयारी गरेका छन्।

राष्ट्रिय सभाको अध्यक्ष पद हात पार्न गठबन्धनको प्रमुख घटक दल माओवादीको चित्त दुःखाइलाई सम्बोधन गर्नु कांग्रेसको जिम्मेवारी भएकाले महासमितिको निर्णय सच्याउन आवश्यक भएको भनेर देउवाले पदाधिकारीहरूलाई सम्झाएको एक नेताले बताए।

उपसभापति पूर्णबहादुर खड्काले सशस्त्र युद्धबारे कांग्रेसको प्रतिवेदनमा गरिएको टिप्पणीमा प्रधानमन्त्रीको प्रष्ट असहमति देखिएकाले माओवादीसँग सत्ता गठबन्धनमा रहेर सशस्त्र युद्धबारे गरेको टिप्पणी उपयुक्त नभएको भन्दै उनले प्रचण्डको असन्तुष्टि सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए।

महासमिति बैठकमा उपसभापति खड्काले पेश गरेको नीति प्रतिवेदनमा माओवादी सशस्त्र विद्रोहलाई औचित्यहीन भनेर टिप्पणी गरिएको छ। तर, खड्का महासमितिले अनुमोदन गरिसकेको आफ्नै प्रस्ताव सच्याउन तयार भएर सभापतिलाई सुझाव दिन हिच्किचाएनन्।

महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सरकार गठन र राष्ट्रियसभा निर्वाचनलाई लिएर माओवादीको गुनासो हुनु स्वाभाविक भएको बताएका थिए। उनले कांग्रेसको पनि माओवादीप्रति गुनासो रहेको बताउँदै २०७९ मंसिरको चुनावमा रोल्पामा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन माओवादीका विद्रोही उम्मेदवारसँग पराजित भएको प्रसङ्ग कोट्याउँदै यसबारे माओवादीले केही नबोलेको बताएका थिए।

महामन्त्री गगनकुमार थापा देउवा निवासको छलफलको अन्तिमतिर पुगेकाले सामूहिक छलफलमा सहभागी थिएनन्। तर, देउवा निवासको निष्कर्षप्रति थापाले कुनै प्रतिक्रिया जनाएका छैनन्।

सभापति देउवाले प्रधानमन्त्री र आफूबीच बाहिर आएजस्तो दूरी नबढेको भनेर सम्झाउँदै प्रधानमन्त्री र आफ्नो कुराकानी भइरहेको सुनाएका थिए।

उनले ‘यसलाई हल गर्न सकिन्छ, पूर्व सहमति अनुसार नै मिल्छ’ भनेर ‘प्रधानमन्त्रीको स्टेटमेन्ट सुन्दा कांग्रेसका दस्तावेजहरू देखाएर प्रचण्डले मन्त्रीहरू हेरफेर गर्न चाहेको देखिन्छ’ भनेका थिए।

सभापति देउवाको भनाइले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले लिने पूर्वसमझदारी कार्यान्वयन हुनेमा उनी ढुक्क देखिएको बुझ्न सकिन्छ। महासमिति बैठकमा पेश भएका दस्तावेज सच्याएर प्रचण्डलाई मनाउन सकिन्छ भन्ने बुझाइ पार्टी सभापतिमा देखिएको भन्दै एक नेताले सभापतिको नयाँ रणनीति सिद्धान्त मिल्दो नभएको टिप्पणी गरेका छन्।

१९ फागुन, २०८०, ०९:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।