इलाम र बझाङमा उम्मेदवारी दर्ता चैत २४ मा

इलाम र बझाङमा उम्मेदवारी दर्ता चैत २४ मा

 काठमाडौँ : इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ-१(१) मा उपनिर्वाचन लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। दुवै स्थानमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०८० चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित हुनेछ। उम्मेदवारहरूको विरोधमा उजुरीको समय २०८० चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। सोही दिनको दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्म मनोनयन र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने कार्य तालिका उल्लेख छ।

चैत २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने, चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने आयोगले जानकारी दिएको छ।

सोही दिन दिउँसो १ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। निर्वाचन कार्यक्रमअनुसार  वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।

१८ फागुन, २०८०, १९:०४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।