मैले भनेको प्रधानमन्त्रीज्यूले खानुहुन्छ : केपी ओली

मैले भनेको प्रधानमन्त्रीज्यूले खानुहुन्छ : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग आफ्नो भेट भईरहने हुँदा समस्या भए सुनाउन आग्रह गरेका छन्।

आज नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले पुस्तक व्यवसायमा देखिएका समस्याहरु ‘मलाई भन्दा पनि हुने’ भन्दै प्रधानमन्त्री आफूले भनेको मान्ने गरेको बताए।

उनले भने, ‘तपाईंहरूले सरकारलाई भन्नुपर्ने कुरा मलाई भन्दा पनि हुन्छ किनभने प्रधानमन्त्रीसँग मेरो भेट भइरहन्छ। मैले भनेको प्रधानमन्त्रीज्यूले खानु पनि हुन्छ खानु पनि पर्छ।’

कार्यक्रममा अध्यक्ष ओलीले नेपालको अर्थतन्त्र कोभिडले गर्दा होइन, सरकारको ध्यान नभएर कमजोर भएको बताए।

उनले भने, ‘कोभिडले अर्थतन्त्र ओरालो लाग्या होइन। कोभिडबाट सबै देशहरू बाहिर निस्किसकेका छन्, हामी भने पोहोर कोभिड भएको हुनाले टाउको दुखेको भनेर बस्छौं। अहिले अर्थतन्त्र कमजोर हुनुपर्ने अवस्था छैन तर ध्यान त्यता तर्फ जानुपर्यो।’

अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सक्ने अवस्था नभएको भन्दै उनले सांसद नै नभएको मान्छेले असार १५ गते प्रधानमन्त्री हुन्छ भन्दै हिँडेको बताए।

‘यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ। संविधानमा त्यस्तो कुनै व्यवस्था छैन। कसले कस्तो सपना देख्छ भन्न सकिँदैन। राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छ भने आफू किन नहुने भन्ने हो कि!’ 

१८ फागुन, २०८०, १४:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।