बुटवलमा २ अर्ब लगानीमा पाँचतारे होटल सफ्रोन सीके खुल्दै

बुटवलमा २ अर्ब लगानीमा पाँचतारे होटल सफ्रोन सीके खुल्दै

बुटवल : लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल ‘सफ्रोन सीके प्रालि’ निर्माणको काम तीब्र गतिमा चलिरहेको छ। हालसम्म निर्माणको काम करिब ६५ प्रतिशत सकिएको छ।

उद्योगीहरू चुन्नु प्रसाद पौडेल, कमल किशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर पालमानी, भुमिराज पौडल र सर्वण बेरिवालको २ अर्बको संयुक्त लगानीमा होटल सफ्रोन सीके सञ्चालनमा आउँदैछ।

पाँच बर्ष अघि निर्माण थालिएको होटल पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए। ०७९ सालमै होटल सञ्चालनमा ल्याउने गरी काम भएपनि विभिन्न कारणले होटल सम्पन्न नभएको उनले बताए।

यस होटलमा नविल बैंकको १ अर्ब बढी ॠण लगानी हुने पौडेलले बताए। ​​​​​​बैंकको ७० प्रतिशत र सञ्चालकहरूको ३० प्रतिशत लगानी रहने गरी होटल निर्माण शुरु भएको हो।

होटल निर्माण सुरू गर्दा १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि अहिले लगानी बढेर २ अर्ब रुपैयाँ खर्च हुने अनुमान उनीहरुको छ। हालसम्म ९० करोड बढी रुपैयाँ बैंकबाट ऋण प्राप्त भइसकेको उनले जानकारी दिए।

५ हजार ७ सय ४६ वर्ग मिटरमा फैलिने होटलमा १०९ वटा कोठाहरू रहने छन्।

त्यस्तै, क्यासिनो निर्माणको काम पनि भर्खरै थालिएको छ। क्यासिनो निर्माण स्थलमा हाइटेन्सन लाइन रहेका कारण एकवर्ष ढिला गरी क्यासिनोको काम सुरू भएको हो।

‘क्यासिनोको माथिबाट हाइटेन्सनको तार गएको छ। यसलाई अगाडिबाट लैजाने प्रक्रिया थाल्दा १ बर्ष ढिला भयो। अबको एक महिनामा तार सर्दैछ,’ सञ्चालक पौडेलले भने।

२६ हजार स्क्वायर फुटमा निर्माण हुने लागेको यो क्यासिनो रुपन्देहीको दोस्रो ठूलो क्यासिनो बन्ने छ। तिलोत्तमामा रहेको टाइगर रिसोर्ट जिल्लाकै ठुलो क्यासिनो हो।

क्यासिनो सहितको होटलको सबै संरचनाको निर्माणको जिम्मा शर्मा एण्ड शर्मा कम्पनीले लिएको छ। पाँचतारे स्तरको होटलमा रेष्टुरेण्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहने छन्।

‘होटल नाफामा जान्छ भन्ने आशा छैन’

प्रालिका अध्यक्ष पौडेल बुटवलमा पाँचतारे होटलको सम्भावना देखेर लगानी गरेको भए पनि अहिले अवस्था पहिले जस्तो नभएको बताउँछन्। निर्माण सुरू भएसँगै आएको आर्थिक मन्दी, प्रदेश राजधानी दाङमा सर्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान नहुँदा त्यसको प्रत्यक्ष असर होटलमा पुग्ने उनले बताए।

‘हामीले निर्माण थाल्दा सबै ठिक अवस्था थियो। विमानस्थल निर्माणकै क्रममा थियो। प्रदेशको मुकाम बुटवल थियो। स्थायी राजधानी यहाँ हुन्छ भनेर यो आँट गरेका थियौँ। तर अहिले सबै परिस्थिति बदलिएको छ’ उनले भने।

उनले अहिलेको अवस्थामा होटल सञ्चालनमा आए होटल सञ्चालन खर्च उठ्नु नै ठूलो उपलब्धि हुने बताए। अर्वौँ लगानी गरेर नाफा कमाउने परिस्थिति नरहेको उनको भनाई छ।

‘अहिलेको अवस्थामा भए यो आँट्न गर्ने कुरै थिएन। बनाएर आधा सकिएपछि राजधानी दाङ गयौँ। विमानस्थल सुरू भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन। पर्यटकहरू आउने कुरै छैन। त्यसमाथि आर्थिक मन्दी थपियो। त्यसैले बीचमै काम रोक्नु भन्दा सम्पन्न गरौँ भनेर लागेका छौ,’ उनले भने।

‘भारतीय पर्यटकका लागि रकमको सीमा बढाउनुपर्छ’

नेपाल-भारत सीमानाबाट बुटवलस्थित यो होटलमा पुग्न २६ किलोमिटरको दुरी छ। विमानस्थल नचलेपछि होटल सञ्चालनको प्रमुख आधार भारतीय पर्यटक नै हुन्। सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउँछन्। 

अध्यक्ष पौडेलले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउनु पर्ने सुझाव दिए। उनले कम्तीमा एक लाख भारुसम्म बोकेर आउन पाउनुपर्ने बताए। 

१७ फागुन, २०८०, १८:३७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।