कांग्रेस महासमितिले गठबन्धनमा बढायो खटपट, राष्ट्रिय सभा अध्यक्षमा माओवादीको मोलमोलाई

कांग्रेस महासमितिले गठबन्धनमा बढायो खटपट, राष्ट्रिय सभा अध्यक्षमा माओवादीको मोलमोलाई

काठमाडौँ : राष्ट्रिय सभाको नयाँ नेतृत्व चुन्ने समय नजिकिइसक्यो। तर उम्मेदवार टुंगो लागेको छैन। राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ।

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ। तर सत्ताधारी दलहरुबीचै राष्ट्रिय सभा अध्यक्षबारे सहमति हुन सकेको छैन। विपक्ष एमालेसहितका दलहरूसँग आफ्नो उम्मेदवार जिताउने मत छैन।

फागुन १७ र १८ मा पदावधि सकिएर घर फर्किन लागेका सदस्यहरूलाई उनीहरूको अनुभव सुनाउने समय छुट्ट्याएको छ। २१ गते नवनिर्वाचित सदस्यहरूको शपथ र स्वागत कार्यक्रम रहेको राष्ट्रिय सभा सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

हालै सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य चुनिएका छन्, उनीहरूको पदावधि आगामी २०८६ फागुन २० सम्म कायम रहने छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गर्न सक्नेछन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका दलहरू कुनै विशेष कारणले अलग नहुँदासम्म सङ्घीय सांसदका दुवै सदनमा उनीहरूकै बहुमत छ। तर अध्यक्ष कुन दललाई दिने भन्ने सहमति हुन सकेको छैन। कांग्रेस र माओवादी दुवैले अध्यक्षमा दाबी गरिरहेका छन्।

कांग्रेस महासमितिको असर

आगामी संसदीय निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धा गर्नेबारे कांग्रेसको महासमितिमा चर्को बहस महासमिति बैठकमा गठबन्धनबारे भएको त्यही बहसले माओवादी केन्द्र कांग्रेससँग शङ्कित देखिन्छ।

गएको निर्वाचनमा आफूसँग सहकार्य गरेको मुख्य दल कांग्रेसभित्र भएको छलफलपछि माओवादी केन्द्र सतर्क मात्र भएको छैन, उ तर्सिएको र वैकल्पिक सहयात्रीको खोजीमा समेत सक्रिय भएको देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक गोप्य वार्तालाप गरिसकेका छन्। यतिमात्र होइन प्रचण्डले आफ्ना निकट सहयोगी नेता अग्निप्रसाद सापकोटा र जनार्दन शर्मालाई अघि सारेर कांग्रेसको निर्णयप्रति गम्भीर असन्तोष प्रकट गरिसकेका छन्।

माओवादीको जारी स्थायी समितिको बैठकमा माओवादी नेताहरूले कांग्रेसको महासमितिमा भएको छलफलबारे गरेका नकारात्मक टिप्पणीले उनीहरू कांग्रेसमा भएको गठबन्धनको बहसबाट कति रिसाएछन् भन्ने देखियो नै।

२०८४ मा एक्लै बहुमत ल्याउने दाबी गरे पनि कांग्रेसले निर्वाचनमा सहकार्य नगर्ने नै हो भने माओवादीलाई एक्लै प्रतिस्पर्धा गर्न कठिन हुने विगतको परिणामले पनि देखाउँछ। त्यसैले उस्तै परे एमालेसँग सहकार्य गर्ने, त्यो नभए पूर्व माओवादी र अरू छरिएर रहेका वामपन्थी दलहरूलाई एक गराएर जाने प्रचण्डको रणनीति देखिन्छ।

के होला गठबन्धन ?

राष्ट्रिय सभाको अध्यक्ष बनाउने कांग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षको वचनपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाको उम्मेदवार बनेका थिए। तर यतिबेला उनी बिलखबन्दमा छन्।

महासमितिपछि एक किसिमले तनावमा परेको गठबन्धन सम्बन्ध सामान्य भइसकेको छैन। यसले राष्ट्रिय सभाको नेतृत्व कुन दलकोमा जान्छ एकिन गर्न सक्ने अवस्था छैन।

वर्तमान गठबन्धन कायम राख्दै अबको निर्वाचनमा पहिल्यै गठबन्धन नगर्ने कांग्रेसभित्रको बहस थियो। त्यसैले तत्काल गठबन्धन फेरबदल नहुन पनि सक्छ। तर राष्ट्रिय सभाको पहिलो ठुलो दल भएको भन्दै माओवादीका नेताहरू कुनै हालतमा राष्ट्रिय सभाको अध्यक्ष नछाड्ने पक्षमा उभिएकाले सहमति अनुसार सिटौला अध्यक्ष हुन त्यति सहज देखिँदैन।

नयाँ रणनीति बनाउँदै माओवादी

माओवादी केन्द्रको हालै सम्पन्न विधान अधिवेशन र अहिले जारी स्थायी समिति बैठकमा राष्ट्रिय सभा अध्यक्ष र गठबन्धनबारे फरक मत आइरहेको छ।

केन्द्रीय सदस्य महेश्वर दाहालका अनुसार, वर्तमान सत्ता गठबन्धन निकट भविष्यमा परिवर्तन हुनसक्ने सम्भावना भएकाले राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनबारे पार्टी आन्तरिक छलफलमा रहेको बताउँछन्।

‘आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार माओवादीले छाड्नुपर्ने हुन्छ, त्यतिबेला संवैधानिक अंगका कुनै पनि निर्णायक भूमिकामा माओवादी रहँदैन तसर्थ राष्ट्रिय सभाको नेतृत्व चैँ आफैँसँग राख्नुपर्छ भन्ने आवाज पार्टीका सबै तहमा उठिरहेको छ। त्यसैले हालको गठबन्धन अनुसारकै परिणाम नआउन पनि सक्ला’ केन्द्रीय सदस्य दाहालले भने।

खटपटको संकेत

राष्ट्रिय सभा निर्वाचनकोक्रममा कोशीमा माओवादीको उम्मेदवार पराजित भए एमालेको उम्मेदवारले जितेदेखि नै गठबन्धनमा खटपट सुरु भएको थियो।

कोशीबाट कांग्रेस नेता सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।

त्यहीबाट कांग्रेस मतदाताले ‘मत क्रस’ गरेर माओवादी उम्मेदवारलाई पराजित गराएको भन्दै माओवादीले समीकरणमा फेरबदलको प्रसङ्ग अघि सारेको थियो।

जारी छ शीर्ष संवाद

यसबिच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल चलिरहेकै छ। भेटमा देउवाले प्रचण्डलाई आफ्नो पार्टीको महासमितिको निर्णयबाट सशङ्कित नहुन आश्वस्त बनाएको देउवापक्षको दाबी देखिन्छ।

त्यसपछि नेता सिटौलाले पनि प्रचण्डसँग भेटेर आफ्नो कारणले गठबन्धन संकटमा पर्ने अवस्था छ भने आफू पछि हट्न तयार रहेको बताएको दाबी सार्वजनिक भएका थिए।

कांग्रेस नेता मिनेन्द्र रिजाल गठबन्धनको सम्बन्धमा कुनै परिवर्तनको सम्भावना नदेखिएकाले गठबन्धन दलहरूको निर्णय पुरानै सहमति अनुसार हुनुपर्ने बताए। नेता रिजालले सिटौला नै राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार हुनेमा कुनै शंका नरहेको बताए।

देउवाको रणनीति

कांग्रेस सभापति देउवा आलोपालो अनुसार छैटौँ पटक प्रधानमन्त्री हुने पर्खाइमा छन्। माओवादी अध्यक्ष प्रचण्डले छाडेपछि देउवा नै प्रधानमन्त्री हुने पक्षमा छन्। यो बिचमा पहिला माधव नेपाललाई एक वर्ष छाड्न पनि सक्छन् देउवाले।

तर देउवालाई प्रधानमन्त्री पदमा सहयोग गर्दा माओवादीले धन्यवाद र कृतज्ञता मात्र लिएर पक्कै चित्त बुझाउने छैन। उसले त्यसको बदलामा ठोस राजनीतिक लाभ लिने प्रयास गर्ने नै छ।

हालको राजनीतिक अङ्कगणित हेर्दा माओवादीका आँखा राष्ट्रिय सभा अध्यक्षको आसनमै सोझिएको प्रस्ट देखिन्छ। यही उद्देश्यले हुनसक्छ अध्यक्ष प्रचण्डले निकटस्थ नेतालाई कांग्रेसप्रति कटाक्ष गराउँदै आलोचना गराइरहेका छन्।

यस्तो अवस्थामा देउवा प्रधानमन्त्री भएमा सिटौला सरकारको दोस्रो वरीयतासहित महत्त्वपूर्ण मन्त्रालय लिएर चित्त बुझाउन बाध्य हुन सक्छन्।

- एनएनबी

१५ फागुन, २०८०, २०:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।