भागबन्डा हुन्नभन्दै प्रधानमन्त्रीले त्रिवि उपकुलपतिमा ल्याए आफ्नै पार्टीका केशरजंग ,पहिलो नम्बरका बुढाथोकी कसरी अयोग्य?

भागबन्डा हुन्नभन्दै प्रधानमन्त्रीले त्रिवि उपकुलपतिमा ल्याए आफ्नै पार्टीका  केशरजंग ,पहिलो नम्बरका बुढाथोकी कसरी अयोग्य?

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन्। छनौट समितिका अनुसार बुढाथोकीले ७८ नम्बर प्राप्ताङ्क पाएका छन् भने नवनियुक्त बरालको ७६ नम्बर मात्रै छ।

विश्वविद्यालयमा राजनीति भागबन्डा हुन नदिने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले त्रिविको उपकुलपति नियुक्त गरेका बराल माओवादी केन्द्र निकट मानिन्छन्। तीन जनाको उमेदवारको प्राप्ताङ्क यसअघि नै सञ्चारमाध्यममा सार्वजनिक भइसकेको थियो।

पहिलो नम्बरमा परेका बुढाथोकीले उपकुलपति नियुक्तिमा राजनीतिक दाउपेच हुँदै गरेको बताएका थिए। उनले यसअघि नै आफू मेरिट सूचीको एक नम्बरमा परे पनि आफूलाई उपकुलपति बन्न नदिने षड्यन्त्र भइरहेको बताएका थिए।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो। शैक्षिक योग्यता, तालिम, अनुसन्धानमुलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बराललाई नियुक्त गरिएको जनाइएको छ।

बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन्।

१० फागुन, २०८०, २०:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।