कांग्रेस महासमिति बैठक आज समापन हुँदै

कांग्रेस महासमिति बैठक आज समापन हुँदै

काठमाडौं : ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक बिहीबार समापन हुँदैछ। छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि बैठक समापन हुन लागेको हो।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गर्नेछन्।

त्यसपछि अपराह्न समापन समारोह गर्ने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।

यस्तै प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
 
बुधबार पाँच प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो। बन्दसत्रको शुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए। 
 
फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी  दुई हजार बढी महासमिति सदस्य  सहभागी छन्।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिबद्धता’ नाराका साथ बैठकको पार्टी सभापति शेरबहादुर देउवाले  उद्घाटन गरेका थिए।

१० फागुन, २०८०, ०७:१५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।