महासमिति बैठकमा प्रश्न : ‘कोशीमा पहिचानको विषय पेचिलो बन्दै गयो, हामीले कसरी राजनीति गर्ने?’

महासमिति बैठकमा प्रश्न : ‘कोशीमा पहिचानको विषय पेचिलो बन्दै गयो, हामीले कसरी राजनीति गर्ने?’

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिहरूले कोशी प्रदेशमा भएको पहिचान आन्दोलनको विषय उठान गरेका छन्।

बैठकमा धनकुटा जिल्ला सभापति दिनेश राईले पार्टीको केन्द्रीय नेतृत्वले वेवास्ता गरेको कारण आफूहरूले कोशी प्रदेशमा राजनीतिक गतिविधि गर्न नसकेको बताए। कोशी प्रदेशको नामको विषय पेचिलो बनिरहँदा कांग्रेस नेताहरू कानमा तेल हालेर बसेको भन्दै उनले आक्रोश पोखेका हुन्।

‘कोशी प्रदेशको नामाङ्कनको विषय पेचिलो हुँदै गर्दा नेतागणहरू कानमा तेल हालेर बस्नुभएको छ। कोशी प्रदेशमा हामीले कसरी राजनीति गर्ने? कुनै पनि राजनीतिक दलले खुलेर कार्यक्रम गर्न पाएका छैनन्’, उनले भने।

सभापति राईले कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभापति मिलेर समाधान दिने चेतावनी दिए।

त्यस्तै, मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले पनि कोशीमा जारी पहिचानको विषयमा कुरा उठाए।

उनले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने चेतावनी दिएका छन्। लिम्बूले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने बताए।

सुनसरी जिल्ला सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषय उठान गरेका छन्। उनले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठीक भन्ने परिपाटी कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरे। उनले कोशीमा कांग्रेसले गठबन्धन गरेर के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गरे।

९ फागुन, २०८०, १४:५६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।