कांग्रेस महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुने

कांग्रेस महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि बन्द सत्रमा पेश भएका पाँच प्रतिवेदनमा समूहगत छलफल हुँदैछ।

सभापति देउवा र महामन्त्री गगन थापाको रस्साकस्सीपछि अन्तत: महासमिति बैठकमा मंगलबार पाँचवटा प्रतिवेदन पेश भए। आजदेखि ती प्रतिवेदनमाथि छलफल हुनेछ।

ललितपुरको गोदावरीमा जारी बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता प्रकाशशरण महत र लेखा समितिका संयोजक श्याम घिमिरेको प्रस्तुत गरेको प्रतिवेदनमा आजदेखि चार समूह बनाएर छलफल गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

बन्दसत्र विहान ८ बजे शुरु हुनेछ। मंगलबार चार वटा प्रतिवेदन बन्दसत्रमा पढेर सुनाइए पनि लेखा समिति संयोजक श्याम घिमिरेले प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउँदै वाचन गरेनन्। उनको प्रतिवेदन पेश गर्ने बेलामा हल नै खाली भएको र सुनाउने सदस्य नभएर प्रतिनिधिलाई बाँडियो।

चुनावमा अरु दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बहसले नेपाली कांग्रेसको महासमिति बैठकलाई नै फरक मोडमा पुर्याइदिएको छ।

विवाद मिलाउन बन्द सत्र नै रोकेर बोलाइएको पदाधिकारी बैठकको बीचबाटै सभापति शेरबहादुर देउवा सत्तारुढ गठबन्धनका दलहरूलाई मनाउन निस्किन पर्नुले त झन् कांग्रेस र अन्य दलको स्वायत्ततामा समेत प्रश्न उठाइदिएको छ।

९ फागुन, २०८०, ०७:४१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।