कांग्रेस महासमिति बैठक : गगनको प्रस्तावमा देउवा सहमत, आज ९ बजेबाट बन्दसत्र शुरू हुने

कांग्रेस महासमिति बैठक : गगनको प्रस्तावमा देउवा सहमत, आज ९ बजेबाट बन्दसत्र शुरू हुने

काठमाडौं : चुवानी गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाकाे प्रस्तावमा देउवा सहमत भएपछि नेपाली कांग्रेसको महासमिति बैठक आज तोकिएको समयमै विहान ९ बजे सुरु हुने भएको छ।

ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो सुरु भएको महासमिति बैठक उद्घाटन सत्रपछि सांगठनिक प्रस्तावमा छलफलका लागि भनेर रोकिएको थियो। बन्दसत्रको तालिका नै सारेर पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो।

सोमबार अबेर रातिसम्म देउवा निवासमा बसेको बैठकमा महामन्त्री थापाको प्रस्तावमा देउवा सहमत भएका हुन्। त्यसअघि महासमिति बैठकको उद्घाटनमा भने उनले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय परिस्थितिमा भरपर्ने बताएका थिए।

अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमतपछि हिजै राति प्रतिवेदन प्रिन्ट गर्न प्रेसमा पठाइएको थियो।

१० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन्। बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने तालिका छ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ।

८ फागुन, २०८०, ०७:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।