कांग्रेस महासमितिमा संविधान संशोधनको बहसको प्रवेश, शेखरपछि देउवा पनि संशोधनको पक्षमा उभिए

कांग्रेस महासमितिमा संविधान संशोधनको बहसको प्रवेश, शेखरपछि देउवा पनि संशोधनको पक्षमा उभिए

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधनको पक्षमा देखिएका छन्। पार्टीको महासमितिको बैठकमा बोल्दै उनले संविधानले व्यवस्था गरेको शासकीय स्वरूप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधानको संशोधन गर्न सकिनेगरी छलफल प्रारम्भ गर्नुपर्ने बताएका हुन्।

देउवा अगाडि कांग्रेस संस्थापनइतर पक्षधरका नेता शेखर कोइरालाले अहिले संविधानमा रहेको निर्वाचन प्रणालीका कारण कुनै दलको पनि बहुमत नआउने भएकाले निर्वाचन प्रणाली बदल्न संविधान संशोधन गर्नुपर्ने धारणा राखेका थिए। सोमबार देउवा पनि संविधान संशोधनकै पक्षमा उभिए।

उनले संविधान जारी भएको आठ वर्ष भइसकेको र संविधान कार्यान्वयनको मूल्याङ्कन गर्ने, कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान गर्ने समय भएको बताएका थिए।

‘नेपालको वर्तमान संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको हो। संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ,’ उनले भने’यो शासकीय स्वरूप कांग्रेसको मान्यता अनुकूल छ। संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य एजेन्डा हुन्।‘

उनले कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ रहेको र संविधानको उचित कार्यान्वयनले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिने बताए।

उनले सम्बोधनमा गठबन्धनबारे समेत बोलेका थिए। अहिले पार्टी गठबन्धनको अभ्यासमा रहेको र अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र नबनी प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भएपछि कांग्रेसकै सक्रियतामा गठबन्धन बनेको उनको तर्क थियो।

उनले गत निर्वाचनपूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता भएको भन्दै संविधानको रक्षालाई प्राथमिक एजेन्डाका रूपमा लिएर महासमितिमा प्रस्तुत हुने सबै दस्ताबेजले यस विषयलाई उल्लेख गरेको बताए।

‘हामीले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ। मिश्रित निर्वाचन प्रणालीका गुणदोष दुवै छन्। यो प्रणालीले देशको सबै जातजाति र समुदायको उचित प्रतिनिधित्वलाई प्रत्याभूति गरेको छ’ उनले भने’ तर यो निर्वाचन प्रणालीमा कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुन्छ। वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ।‘

उनले आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउन सक्नेगरी पार्टी सङ्गठनलाई सुदृढ बनाउने काममा लाग्न आग्रह गर्दै यसका लागि पार्टीका सबै अनुशासित, एकताबद्ध र क्रियाशील हुनुपर्ने बताए।

उनले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भन्दै तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने बताए।

उनले जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य नहुने बताए। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्दै उनले लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्ने बताए। 

७ फागुन, २०८०, १८:४२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।