सत्ता हस्तान्तरणमा समस्या हुने भयले जसरी पनि महामन्त्री थापाको प्रतिवेदन बदल्ने संस्थापन पक्ष सक्रिय

सत्ता हस्तान्तरणमा समस्या हुने भयले जसरी पनि महामन्त्री थापाको प्रतिवेदन बदल्ने संस्थापन पक्ष सक्रिय

काठमाडौं : अब हुने निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्न पार्टी महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन बदल्न नेपाली कांग्रेसको संस्थापन पक्ष सक्रिय भएको छ।

महासमितिबाट सो प्रस्ताव पारित भए अहिलेको गठबन्धनमा सत्ता हस्तान्तरण प्रक्रिया प्रभावित हुने भयले संस्थापन पक्ष महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्ने या नगर्नेबारे छलफल गर्न तयार देखिएको छैन।

माओवादी केन्द्रसहितको वर्तमान गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्रीको दुई वर्षको अवधि सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सत्ताको नेतृत्व सुम्पनुपर्नेछ।

माधव नेपालले सरकारको एक वर्ष नेतृत्व गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा दुई वर्ष प्रधानमन्त्री हुनेछन्। पछिल्लो समय माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनमा कोशीको परिणामलाई लिएर कांग्रेससँगको गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने बहस शुरू भइरहेको छ।

गठबन्धन नगर्ने प्रतिवेदन पारित भएमा प्रचण्डले एमालेसँग मिलेर गठबन्धन गर्नसक्ने भयले संस्थापन पक्ष सकेसम्म त्यसबारे बैठकमा छलफलै नगराउने पक्षमा देखिएको छ।

त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएर पार्टी महामन्त्री गगन थापासँग सोमबार छलफल गरे। तर, संस्थापनइतर समूह कुनै हालतमा महासमिति बैठकमा गठबन्धनबारे छलफल गराउने र निर्णय गराउने पक्षमा देखिएको छ।

त्यसैले देउवा र थापाबीचको वार्ता सहमतिमा पुग्न सकेन। सोमबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा संस्थापन पक्षले प्रि-इलेक्सन एलायन्स नगर्ने विषयमा महासमितिमा छलफलै गर्न नहुने तर्क गरेका थिए।

निर्वाचन आउन अझै लामो समय बाँकी रहेको र यसले अहिलेको सत्ता गठबन्धनमा असर गर्ने उनीहरूको तर्क रहेको छलफलमा सहभागी स्रोतले उकेरालाई बतायो।

तर, महामन्त्री थापा प्रतिवेदनबाट निर्वाचन अगाडि गठबन्धन नगर्ने विषयमा छलफल गराउने पक्षमा उभिएपछि पछि बैठक बस्नेगरि छलफल टुंगियो।

७ फागुन, २०८०, १३:४०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।