काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन सम्पन्न

काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन सम्पन्न

काठमाडौँ : काठमाडौँ विश्वविद्यालय (केयु) र भारतीय विश्वविद्यालय संघले संयुक्त रुपमा आयोजना गरेको उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलनको समापन भएको छ।

शुक्रबार एक कार्यक्रमका बीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं काठमाडौँ विश्वविद्यालयका सहकुलपति अशोक राईको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले अबको उच्च शिक्षा एसिया केन्द्रित अवधारणामा हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले नीतिगत तह र व्यवहारिक पक्ष दुवैमा काम गरिरहेको बताए।

भारतीय विश्वविद्यालय संघका अध्यक्ष जि डी शर्माले अहिले नेपाल र भारतका ८० प्रतिशत भन्दा बढी विद्यार्थीहरूको शैक्षिक गन्तव्य पश्चिमी मुलुकहरू हुने गरेको र उनीहरू पढाई सकेर विरलै स्वदेश फर्कने गरेको वास्तविकताका बीच संघ तथा काठमाडौँ विश्वविद्यालयले सहकार्य गर्दै विद्यार्थी बहिर्गमनलाई रोक्न रचनात्मक भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।

उच्च शिक्षा र वैश्विकरणका विभिन्न आयामहरूलाई विभिन्न तीन सत्रहरूमा विभाजन गरेर छलफल गरिएको कार्यक्रमको पहिलो सत्रमा सहभागीहरूले अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदाबारे छलफल गर्दै उच्च शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका साझा मार्ग निर्माणका संभावनाको खोजी भएको विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसैगरी, दोस्रो सत्रमा शैक्षिक क्षेत्रको नियमन र नीति निर्माणका साझा मुद्दाहरू गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता विषयहरूमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता सहित आगामी कार्यदिशा पहिल्याउने प्रयास भएको थियो भने तेस्रो सत्रमा विद्यार्थी गतिशीलता र त्यसको विविध अन्तर्राष्ट्रिय अनुभवका बारेमा छलफल भएको विश्वविद्यालयकी प्रवक्ता पुनले जानकारी दिइन्।

५ फागुन, २०८०, २१:५३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।