छात्रवृत्तिमा बाख्राको पाठी पाएपछि दङ्ग​​​​​​​ परे विद्यार्थी

छात्रवृत्तिमा बाख्राको पाठी पाएपछि दङ्ग​​​​​​​ परे विद्यार्थी

काठमाडौं : तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्ट छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाएपछि दङ्ग छिन्।

कक्षा ८ मा पढ्ने सपनाले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक सामग्री पाउने अनुमान गरेकी थिइन्। तर, पाठी पाउँदा दङ्ग परेको बताइन्। ​

उनले भनिन्, 'हामीले त छात्रवृत्तिमा नगद वा शैक्षिक सामग्री दिएको पढेका, देखेका थियौँ तर विद्यालयले हामीलाई बाख्राको पाठी नै छात्रवृत्ति दिइएको छ।'

कक्षा ७ मा अध्ययनरत रोजना रोकाले पनि छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो अनुभूति भएको बताइन्।

तनहुँ जिल्लामै पहिलोपटक फरक योजनाअनुरुप विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले बताए। नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उहीँ समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरणको अभियान सुरू गरिएको उनले बताए।

प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८ मा अध्ययनरत सपना भट्ट, कक्षा ७ मा अध्ययनरत रोजना रोका र कक्षा ६ मा अध्ययनरत सृष्टि गुरुङलाई छात्रवृत्तिका रुपमा एक/एक वटा पाठी वितरण गरिएको छ।

विद्यालयमा स्थापना गरिएको दुई वटा छात्रवृत्ति कोषबाट प्राप्त रु २१ हजारमा तीन वटा उन्नत बाख्राको पाठी खरिद गरिएको उनको भनाइ छ। उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको थियो।

५ फागुन, २०८०, २१:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।