लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याव सेवा सुरू, मुटु रोगको उपचार सहज हुने

लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याव सेवा सुरू, मुटु रोगको उपचार सहज हुने

बुटवल : विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबारदेखि क्याथल्याव सेवा सुरू भएको छ।

अस्पतालमा बिहीबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ गरिएको मेडिकल सुपरिटेन्डेन (मेसु) डा. सुदर्शन थापाले जानकारी दिए।

उनले यो सेवाको शुभारम्भसँगै अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने बताए।

सरकारी स्तरबाट सञ्चालित अस्पतालमा विशेषज्ञ सेवालाई थप गर्दै जाँदा सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्ने डा. थापाले उल्लेख गरे। स्थापनाको ११४ वर्षमा क्याथल्याव सेवा सुरू गरिएको जानकारी गराउँदै मेसु डा. थापाले यस क्षेत्रका सेवाग्राहीका लागि ठूलो सफलता र खुसीको कुरा भएको बताए।

अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीको नेतृत्वमा डा. रोशन घिमिरे, डा. सुदर्शन थापा, डा. सुरेन्द्र कुँवर र डा. समिर आचार्यको समूहले गुल्मीका ७५ वर्षीया र ७२ वर्षीय महिलाका एनजीओग्राम गरिएको थियो।

अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथल्याव सेवा सुरू गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीले बताए।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथल्याव सञ्चालनको लागि २२ करोड विनियोजन गरेसँगै यो सेवा सुरू भएको हो। काडियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक राम प्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको र यसले मुटुसम्बधी सम्पूर्ण उपचार गर्न सकिने छ।

क्याथल्यावमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरि ८ जनाको समूहबाट सेवा प्रदान गरिने छ।

३ फागुन, २०८०, १८:४३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।