साहित्यकार राधेश्याम लेकालीको हिजोको कुरा : महेश बस्नेत र भेषबहादुर थापासँग चौथी हान्न जाँदा रातभर लास कुर्दैको हैरान
साहित्यकार राधेश्याम लेकाली उमेरले ६५ पुगे। तर, उनको जोस हेर्ने हो भने युवापुस्ता भन्दा कम छैन। इलाम नगरपालिकाको मालापथमा २०१५ असार २२ मा जन्मिएका उनले पहिलोपटक आफ्ना रचना ‘भानुप्रति’ सौगात पत्रिकामा प्रकाशित भएको थियो। २०३३ सालदेखि साहित्यमा अनवरत रूपमा लागेका उनका थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन्। १५ सालमा जन्मिएका साहित्यकार लेकालीले नेपालको पञ्चायती व्यवस्था मज्जैले अनुभव गरेका छन्। त्यसक्रममा उनी प्रहरीको निशानामा समेत परेका रहेछन्। उनै साहित्यकार लेकालीले आफ्ना हिजोका कुरा उकेरासँग यसरी साटे।
म इलामको त्यो बेलाको बजारमा नै जन्मिएको हो। त्यहाँ एउटा मालापथ भन्ने ठाउँ छ, बजारसँगै जोडिएको। त्यहाँ गोलो राउण्ड जस्तो छ, त्यसले गर्दा मालापथ भन्ने गरिन्थ्यो र अहिले पनि भनिन्छ। धरान र भारतको दार्जिलिङ शहरसँग जोडिएको एवं लाहुरेहरूको अत्यधिक उपस्थितिले पनि होला इलामा अरू जिल्लाभन्दा निकै शिक्षित थियो। त्यहाँबाट लाहुर जाने चलन पनि थियो। हङकङमा आएको फेसन धेरै छिटो इलाम र धरानमा आइपुग्थ्यो। हाम्रो बजार भर्ने ठाउँ भनेको दार्जिलिङ र सिलगुडी नै थियो। त्यो हिसावले पनि हाम्रो ठाउँ सचेत ठाउँ थियो।
म २०/२२ सालको कुरा त म सम्झिन सक्दिनँ। तर, त्यसपछिका हरेक कुराहरू सम्झन सक्छु। इलाममा मिश्रित समुदायको बहुल्यता थियो र अहिले पनि छ। सबै मिलेर बसेका बस्थेँ र धार्मिक सहिष्णुता थियो। त्यहाँका नेवार समुदायका मान्छेहरूले नेवार भाषा बोल्न जान्दैनन्। उनीहरूले नेपाली भाषा नै बोल्थेँ। त्यहाँ धान नाच भयो भने फलानाले मात्रै नाच्ने भन्ने हुँदैन। नेवार, क्षेत्री, बाहुन सबै समुदाय सहभागी भएर नाच्ने गरिन्थ्यो। अहिले पनि गरिन्छ। त्यस्तो मिलनसार बसेको समुदाय हो। छुवाछुत पनि खासै हुँदैनथ्यो। अलि-अलि बुढापाकाहरूले गर्न खोज्थेँ। तर, पूरै छुवाछुत गर्ने हिसावको हुँदैनथ्यो। बरु अहिले अलिक बढी जातियताको कुरा गर्न थालेका छन्। त्यो बेला मैले पाइनँ। सबैलाई साइनो लगाएर बोलिन्थ्यो।
हटिया बजार
त्यो समयमा हाम्रो घर अगाडि आइतबार र सोमबार हटिया बजार लाग्ने गर्थ्यो। अहिले त धेरैलाई हटिया भन्ने पनि थाहा छैन होला। किनभने त हटिया बजार बिस्तारै लोप हुँदै गएका छन्। शहर बनेका छन्। त्यो समयमा दार्जिलिङ, सिक्किम लगायत ठाउँका मान्छेहरू व्यापार गर्न नेपाल आउँथे। नेपालका पनि धेरै व्यापारीहरू उता जान्थे व्यापारका लागि। एउटा कुरा के थियो भने व्यापारको एक्सचेन्ज गर्ने ठाउँ पनि थियो। त्यो बेलामा व्यापारीहरूले सामानहरू, भाँडाकुडाहरू बोकेर नै मेलामा ल्याउने गर्थे। गाडीहरू सामान्य त चल्थे तर त्यस्तो प्रभावकारी थिएन।
त्यो सांस्कृतिक मेला थियो। त्यहाँ मारुनी नाच पनि हुन्थ्यो, धान नाच पनि हुन्थ्यो। अहिलेका आधुनिक नाचहरू पनि हुन्थ्यो। त्यसले हरेक मान्छेलाई जोड्ने काम गर्थ्यो। अर्को कुरा के पनि थियो भने दार्जिलिङबाट आएका र यताका तरुण-तन्नेरी दोहोरी गाउँथे। दोहोरी गीत गाएर भगाउने र विवाह गर्नेसम्मको कुरा हुन्थ्यो। यस्ता घटनाहरू धेरै थिए त्यो समयमा। रातभरि मेला लाग्ने भएकाले पनि त्यो समय निकै रमाइलो थियो। कतिपय ती मेलाहरू अहिले पनि निरन्तर चलिरहेका छन् भने कतिपय बन्द भए।
हामी ती मेलाहरूमा एकदमै जान्थ्यौँ। घर नजिकै मेला लाग्ने हुनाले प्राय त्यहिँ घुमिरहेका हुन्थ्यौँ। मेलाको समयमा स्कुल विहान लाग्थ्यो। अरुबेला भने दिउँसोको हुन्थ्यो। ती मेलामा खासै खर्च पनि बोक्नु पर्दैनथ्यो। थोरै पैसाले पनि मज्जाले खान पुग्थ्यो। साँझको खाना खाएपछि मेला घुम्न गएर विहान हुन आँटेपछि घर फर्किन्थ्यौँ।
रानी ऐश्वर्यले दिएको त्यो चकलेटको प्याकेट
२८ सालतिर तत्कातीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्य इलाम आउनुभएको थियो। ऐश्वर्य त्यो बेला स्काउटमा हुनुहुन्थ्यो। उहाँहरू इलाम आउनुभएको समयमा म कक्षा ८ कक्षामा पढ्थेँ। मलाई यो कुरा राम्ररी थाहा छ। त्यो ८ कक्षा पढ्दाको समयमा हामीलाई स्काउटको ड्रेस लगाएर गढीथुम्काको आर्मी ब्यारेकमा लगियो।
हामी त्यो ब्यारेकमा जाँदा त्यहाँका सबै विद्यार्थीहरूलाई भनेर ऐश्वर्यले ठूलो चकलेटको प्याकेट दिनुभएको थियो। त्यो एक प्याकेट चकलेट पाउँदाको खुसीको पल त्यसपछि जीवनमा कहिल्यै आएन, त्यति खुशी भइयो। उहाँले चकलेट दिँदाखेरि टाउको हल्लाउनुभएको थियो। त्यो सम्झना अहिले पनि छ मलाई। उहाँको केश अलिक उठेको, साडी लगाउनुभएको र चम्मा लगाउनुभएको याद छ मलाई। त्यो बाहेक अरु केहि भनेको सम्झना छैन।
त्यो समयमा उहाँहरू पूर्वाञ्चलको सवारीमा इलाम आउनुहुन्थ्यो। उहाँहरू इलाम आउँदादेखि बजार अनुगमन गर्नुभएको याद छ। सुरक्षाकर्मीहरू सिभिल ड्रेसमा पर-पर राखेर उहाँ बजारको भाउ बुझ्न हिँड्नुहुदो रहेछ। जनताको अवस्था के-कस्तो भनेर बुझ्नका लागि बजारमा घुम्नुहुँदो रहेछ।
त्यो समयमा राजा यहि हो भनेर चिनिँदैन थिए। पछि सैनिकका मान्छेहरूले भन्थे। अहिलेको जस्तो फोटो हेरेर को कस्तो छ भन्ने थाहा हुन्नथ्यो। मलाई लाग्छ त्यहि बजारमा घुम्दा वीरेन्द्रलाई भेटियो होला। तर, ठ्याक्कै यहि भन्ने अनुमान लगाउन सकिएन। सबैको लुगा उस्तै हुन्थ्यो। उनले पनि सुकिला मुकिला लुगा लगाएको भए थाहा हुन्थ्यो या सबैको नजर पथ्र्यो। त्यस्तो थिएन । साधारण लुगा लगाएपछि कसले वास्ता गर्ने र?
चौथी हान्न जाँदा लास कुर्नुपर्यो
हाम्रो घर संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको घरसँगै हो, छिमेकी थियौं हामी। त्यो बेला उहाँहरूको घर वरपर सुन्तलाबारी थियो। अनि चौथीमा हामी केहि केटाहरू मिलेर टिपेर खान्थ्यौं। त्यो समयमा चौथीमा चोर्दा केस लाग्दैनथ्यो। सुन्तलामा चौथी हान्दा गाली पनि गर्दैनथे। सुन्तला मात्र होइन कतिका काक्रा नै चौथी हानेका छौँ।
यसरी चौथी हान्दा नमिठो घटना पनि छ। १० कक्षामा पढ्दै गर्दाको समयमा हो। मैले एसएलसी त्यहि ३२ सालमा दिएको हो। त्यहि बेलाको कुरा हो। अस्पतालभन्दा मुनि एक जना माल्दाई भन्ने हुनुहुन्थ्यो। उहाँको घरमा हामी पाँच/छ जना साथी चौथी हान्न गएका थियौं। त्यतिबेला अहिलेका सांसद महेश बस्नेत जसले झलनाथ खनाललाई हराए, दिनेश डिसीको दाइ पुष्पराज दाहाल, पूर्व परराष्ट्रमन्त्री भइसकेका भेषबहादुर थापा लगायत अरु पनि थिए। नाम चैँ ठ्याक्कै भुलेँ।
साँझमा गएकाले खाना पनि खाएका थिएनौँ। त्यहाँ पुग्दा आँगनमा माल्दाईको लास थियो। उहाँ बित्नुभएको रैछ, हामीलाई पहिला थाहा थिएन। माल्दाईको लासअघि हाम्रा अग्रज दाइहरू र परिवारका महिला सदस्यहरू मात्र हुनुहुन्थ्यो। तीमध्ये एक जना दाईले हामीलाई ‘लास कुर्दै गर, हामी खाना खाएर आउँछौं’ भनेर जानुभयो। लौ होला त नि भनेर कुरेर बसियो। अब आउँछन् छैन, भरे आउँछन् छैन। भोकै बस्या छौँ।
त्यो बेलामा अहिलेको जस्तो लासलाई राति जलाउन लैजाने अवस्था पनि हुँदैनथ्यो। अनि भोक लागेपछि फेरि दुई जनालाई सुन्तला ल्याओ है भनेर पठायौँ। सुन्तला लिन गाका पनि मरिगए फर्केर आउँदै आएनन्। त्यो भोकका अगाडि लासको डर पनि लाग्दो रहेनछ। अहिलेको जस्तो फोन पनि थिएन। कसैलाई फोन गर्न पनि।
इलाममा हाते फ्याक्ट्री
इलाममा चिया बगान पहिलाबाट नै फेमस थियो। राणाकालीन समयमा उनीहरूले चिया रोपेको बताइन्छ। त्यहाँ एउटा हाते फ्याक्ट्री थियो। त्यतिबेला स्थापना भएको विश्वकै नमुना फ्याक्ट्री। त्यसको आवाज चाहिँ टुक-टुक-टुक गर्थ्यो र राति त्यहाँ चिया उत्पादन हुँदा त्यसको मगमग वास्ना आउँथ्यो अनि बजारभरी फैलिन्थ्यो।
त्यो टुक-टुक आवाजसँगै मान्छेहरू निदाउँथे। बानी नै परिसकेको थियो। त्यो समयमा घडी हुँदैनथ्यो। काठमाडौंको घण्टाघर जस्तो घडी पनि त्यहाँ थिएन। अनि चिया बगानको त्यो फ्याक्ट्रीमा हरेक घण्टा घन्टी बजाउँथ्यो। त्यसैका आधारमा मान्छेहरूको दैनिकी हुन्थ्यो। चिया फ्याक्ट्री डाँडामा भएकाले टाढा-टाढासम्म त्यो आवाज सुनिन्थ्यो।
फागुन ३, २०८० बिहीबार १३:३०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।