सार्वजनिक जग्गा लिएकोबारे भेषबहादुरले भने- ‘एक इन्च जग्गा पनि लिनु छैन, मालपोत-नापीबाट नापजाँच गराउँदा हुन्छ’

सार्वजनिक जग्गा लिएकोबारे भेषबहादुरले भने- ‘एक इन्च जग्गा पनि लिनु छैन, मालपोत-नापीबाट नापजाँच गराउँदा हुन्छ’

काठमाडौँ : पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापाले आफूले कुनै सार्वजनिक जग्गा नमिचेको दाबी गर्दै जग्गाबारे रामबहादुर रावल आयोगले कागजपत्र माग्ने वा सोधपुछ गर्ने केही नगरेको तर्क गरेका छन्।

उकेरामा सोमबार डा भेषबहादुर थापाको नाममा रहेको बानेश्वर हाइटको २ रोपनी ११ आना जग्गा सार्वजनिक भएकोबारे प्रमाणसहित समाचार प्रकाशित भएको थियो। सोमबार डा थापाकी श्रीमती रीता थापाले सार्वजनिक जग्गा भेषबहादुरको नाममा आएकोबारे केही जानकारी नभएको प्रतिक्रिया दिएकी थिइन्।

मङ्गलवार डा थापाले ट्विटरमा समाचारबारे आफ्नो धारणा राख्दै ‘उकेरा डटकममा 'डा. भेषबहादुर थापाले सार्वजनिक जग्गा मिचे' भन्ने रामबहादुर आयोगको हवाला दिँदै समाचार प्रकाशन भएकामा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले सार्वजनिक जग्गा एक इन्च पनि लिनु छैन भन्दै आयोगले कसरी सार्वजनिक जग्गा मिच्यो भन्यो त्यसबारे कुनै जानकारी  नभएको दाबी गरेका छन्।

रावल आयोगले २०५२ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा भेषबहादुरको नाम र उनको जग्गामा घुसेको सार्वजनिक जग्गाको पूर्ण विवरण उल्लेख छ।

उकेराले सूचनाको हक अनुसार प्राप्त गरेको रावल आयोगको प्रतिवेदनमा थापाको नाममा देखिएको कित्ता नम्बर  ८,   सिट नम्बर ११०६–१३ मा ३ रोपनी १३ आना २ पैसा जग्गा देखिन्छ। त्यसमध्ये एक रोपनी ११ आना एक पैसा सार्वजनिक जग्गा घुसेको प्रतिवेदनमा उल्लेख छ। कित्ता नम्बर ८, सिट नम्बर ११०६–१३ मा थापाको नाममा तीन रोपनी १२ आना २ पैसा जग्गा देखिन्छ। प्रतिवेदन अनुसार सो जग्गामा १३ आना १ पैसा सार्वजनिक जग्गा घुसेको प्रस्ट उल्लेख छ।

कित्ता नम्बर ६५, सिट नम्बर ११०६–१३ को १५ आना एक पैसा जग्गामध्ये ३ आना १ पैसा दुई दाम जग्गा भेषबहादुरको नाममा रहेको जग्गामा घुसेको उल्लेख छ।  थापाको नाममा दुई रोपनी ११ आना ३ पैसा, दुई दाम सार्वजनिक जग्गा रहेको देखिन्छ।

भेषबहादुर थापाको नाममा रहेको सार्वजनिक जग्गाबारे आयोगको प्रतिवेदनमा उल्लेख विवरण र हाल सो जग्गा उनको नाममा पास भएको मालपोतको विवरण।उकेराले मालपोत कार्यालय डिल्लीबजारमा सूचनाको हक अनुसारै निवेदन दिएर सो जग्गाको हालको अवस्थाबारे जानकारी मागेको थियो। माघ २९ मा मालपोतले दिएको प्रमाणमा २०५५ असार १ गते सार्वजनिक भनिएको जग्गा भेषबहादुर थापाको नाममा पास भएको देखिन्छ।

तर थापाले आयोगले जग्गाको कागजात या स्रेस्ता माग्ने या सोध्ने केही पनि नगरेको र मालपोत र नापी विभागले आजसम्म यसबारे केही पनि नभनेको उल्लेख गरेका छन्।

‘म लामो समय अमेरिका र भारतमा राजदूत हुँदा उक्त आयोगको प्रतिवेदनबारे पनि हामीलाई कुनै जानकारी भएन। समाचारमा उक्त विषय आएपछि म र मेरो परिवारलाई मानसिक विचलित तुल्याएको छ’ उनले लेखेका छन्।

उनले आफ्नो जग्गा मालपोत र नापी विभागबाट नाप जाँच गराउन भन्दै आदित्य शमशेर राणासँग जग्गा खरिद गरेको लिखत अध्ययन गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

फागुन १, २०८० मंगलबार २२:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।