पूर्व परराष्ट्रमन्त्री भेष बहादुर थापाले साढे २ रोपनी सार्वजनिक जग्गा आफ्नो बनाए, तर भन्छन् 'जानकारी छैन’

पूर्व परराष्ट्रमन्त्री भेष बहादुर थापाले साढे २ रोपनी सार्वजनिक जग्गा आफ्नो बनाए, तर भन्छन् 'जानकारी छैन’

काठमाडौँ : पूर्व परराष्ट्रमन्त्री भेष बहादुर थापाले बानेश्वर हाइटमा रहेको दुई रोपनी, ११ आना सार्वजनिक जग्गा मिचेका छन्। उकेराले प्राप्त गरेको विवरणमा काठमाडौँ महानगरपालिका वडा नम्बर १० बानेश्वर हाइटमा रहेको सार्वजनिक जग्गा अहिले उनको नाममा दर्ता भएको पुष्टि हुन्छ।

काठमाडौँ बानेश्वरस्थीत महादेवस्थानमा झन्डै तीन रोपनी जग्गा थापाले मिचेको २०५२ मै खुलिसकेको थियो। थापाको नाममा रहेको जग्गा सार्वजनिक हो भन्ने खुलेको २८ वर्ष बितिसक्दा पनि न सरकारको नाममा आएको छ न उनले छाडेका छन्।

उकेराको खोजमा सो जग्गा सार्वजनिक रहेको प्रतिवेदन सार्वजनिक भएपछि थापाले कहिँकतै सो जग्गा सार्वजनिक नभएको भन्दै हकदाबी गरेको देखिएन।

सरकारले २०४९ पुस १६ गते तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो। सो आयोगले २०५२ मा प्रतिवेदन बुझायो।

सूचनाको हक प्रयोग गर्दै उकेराले प्राप्त गरेको आयोगको प्रतिवेदनमा थापाले जग्गा मिचेको उल्लेख छ। प्रतिवेदनमा थापाको नाममा देखिएको कित्ता नम्बर  ८,   सिट नम्बर ११०६–१३ मा ३ रोपनी १३ आना २ पैसा जग्गा देखिन्छ। त्यसमध्ये एक रोपनी ११ आना एक पैसा सार्वजनिक जग्गा घुसेको प्रतिवेदनमा प्रस्ट उल्लेख छ।

कित्ता नम्बर ८, सिट नम्बर ११०६–१३ मा थापाको नाममा तीन रोपनी १२ आना २ पैसा जग्गा देखिन्छ। प्रतिवेदन अनुसार सो जग्गामा १३ आना १ पैसा सार्वजनिक जग्गा घुसेको प्रस्ट उल्लेख छ।

कित्ता नम्बर ६५, सिट नम्बर ११०६–१३ को १५ आना एक पैसा जग्गामध्ये ३ आना १ पैसा दुई दाम जग्गा भेषबहादुरको नाममा रहेको जग्गामा घुसेको उल्लेख छ।  थापाको नाममा दुई रोपनी ११ आना ३ पैसा, दुई दाम सार्वजनिक जग्गा रहेको देखिन्छ।

आयोगको नेतृत्व पूर्व सचिव राम बहादुर रावलले गरेकोले यसलाई रावल आयोगको प्रतिवेदन रूपमा समेत चिनिन्छ। सो प्रतिवेदनको विवरणमा २०५१ जेठ २३ गते मालपोत कार्यालयमा पत्राचार गर्दा गणेशबहादुर, गङ्गाबहादुर, कालु महर्जन र आदित्य शमशेर जबरा समेत जग्गाधनी उल्लेख भई मोठ दर्ताबाट बाँकी देखिन्छ भन्ने उल्लेख छ।

रावल आयोगले २०५२ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा भेषबहादुरको नाम र उनको जग्गामा घुसेको सार्वजनिक जग्गाको पूर्ण विवरण उल्लेख छ। सो प्रतिवेदनमा सार्वजनिक जग्गा दाबी गरिएका केही जग्गाका धनी कानुनी उपचारमा गएको देखिन्छ। तर थापा परिवार भने मौन बसे। उल्टो उनले २०५५ असार १ गते सार्वजनिक जग्गा आफ्नो नाममा ल्याएको मालपोत कार्यालय डिल्लीबजारको विवरणले पुष्टि गर्छ।

सार्वजनिक जग्गा थापाको नाममा रहेको प्रमाणसँगै उकेराले उकेराले सूचनाको हकमार्फत मालपोत कार्यालय डिल्लीबजारमा जग्गाको अवस्थाबारे विवरण मागेको थियो।

मालपोत कार्यालयबाट उकेराले प्राप्त गरेको विवरणमा रावल आयोगले सार्वजनिक जग्गा भनेको जग्गाहरू अहिले भेषबहादुर थापाको नाममा कायम भइसकेको पुष्टि भयो।

मालपोत कार्यालय डिल्लीबजारले उकेरालाई माघ २९ मा जग्गाबारे दिएको  सूचनामा जग्गाधनीको नाम भेषबहादुर थापा उल्लेख छ। जग्गाको विवरणमा रैकर निजी उल्लेख छ भने कारोबार मिति २०५५ असार १ गते उल्लेख गरिएको छ।

त्यो जग्गाको हालसम्म किनबेच भएको भने देखिँदैन। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँमा उकेराले तीन पुस्ते विवरण समेत भिडाएको थियो।

सार्वजनिक जग्गा व्यक्तिको भनेर दर्ता गरेका भेषबहादुर थापाको बुबाको नाम जनरल नुर बहादुर, बाजेको नाम कर्नेल कटकबहादुर उल्लेख छ। हालै सार्वजनिक भएको पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाको जीवनी’ राष्ट्र परराष्ट्रको पाना नम्बर १३ मा 'मेरो बुबा नुरबहादुर थापा सेनामा हुनुहुन्थ्यो। म जन्मिदा हाम्रा बाजे कटकबहादुर थापा कर्णेल हुनुहुन्थ्यो’ लेखेका छन्।

उनको ‘राष्ट्र परराष्ट्र’ किताबको पाना नम्बर ३४ मा’ बानेश्वर हाइटमा रोपनीको १४ हजारको दरले १० रोपनी जग्गा कुलशेखर शर्मासँग मिलेर किनेको उल्लेख गरेका छन्।

‘मेरो घर भेरी बास भएको बानेश्वर हाइटको जग्गा जहाँ जग्गाधनीको गोठ थियो, कुलशेखर शर्मा र म दुई जान मिली १४ हजार रुपैयाँमा १० रोपनी किनेर आधाआधी बाँडेका हौँ। जतिबेला हामीले यहाँ जग्गा किन्यौ, त्यसबेला आदित्यशमशेर सेनामा थिए। मेरा बुबा पनि सेनामा। उनैले मेरो बुबासँग गजबको ठाउँमा जग्गा देखाइदिन्छौँ भनेर जग्गा देखाइदिएका थिए।  बानेश्वरको जग्गा नकिनेसम्म हामी गैरीधारामा बुबासँगै बस्थ्यौँ।'

उनीसँग जग्गाबारे जानकारीलिन फोन सम्पर्क गर्दा उनले मैले बुझिन भन्दै श्रीमती डा रिता थापालाई कुरा गर्न दिए।

डा रिताले' त्यो जग्गा आदित्य शमशेरबाट किनेको’ बताइन। उनले भनेको विवरण रावल आयोगको विवरणसँग मेल खायो।

‘अरूबाट जग्गा किनेकाले सार्वजनिक जग्गा मिचेको भन्नेबारे थाहा छैन। बरु डा बाबुराम भट्टराई प्रधानमन्त्रीहुँदा बाटो विस्तार गर्दा हामीले केही जग्गा उल्टो छोडिदिएका छौँ। अहिले त किनेजति जग्गा पनि छैन।'

सधैँ सत्ता र शक्तिमा थापा

थापा पञ्चायतकालदेखि गणतान्त्रिककालसम्म सबै सत्ता र शक्तिमा रहेका पात्र हुन्। त्यसैले पनि उनले सार्वजनिक जग्गा मिचेको विषय लुकेरै बस्यो।

उनी राजा महेन्द्रको पालादेखि गणतन्त्रकालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्मको दाहिना रहन सफल भएको  थापाकै किताब पढ्दा थाहा हुन्छ।

तत्कालीन राष्ट्रिय योजना आयोगको सचिव हुँदै पछिल्लो समय उनी नेपाल भारतको सीमा अध्ययन गर्न बनेको प्रबुद्ध समूहमा रहेर काम गरेका थिए। उनी अमेरिका, भारत जस्ता रणनीतिक महत्वका देशको राजदूत समेत भएका थिए। बडा हाकिमका छोरा रहेका थापालाई राजा महेन्द्रले सर्लाहीमा १० बिघा जग्गा बक्सिस दिएको समेत लेखेका छन्। यता थापा काठमाडौँ बस्ने। उनी सचिव, गभर्नर, कूटनीतिज्ञ र मन्त्री समेत भइसकेका व्यक्ति हुन्।

रावल आयोगले प्रतिवेदन बुझाएपछि पनि थापा भारतका लागि नेपाली राजदूत र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा परराष्ट्र तथा स्वास्थ्य मन्त्री समेत भए।

उनले आफू आदर्श र इमानदार कर्मचारी रहेको  पुस्तकमा दाबी गरेका छन्। तर रावल आयोगको विवरणले उनको यो दाबी मिथ्या देखायो।

२८ वर्षदेखि अलपत्र रावल आयोग

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०४९ साल पुस १६ मा ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो। कोइरालाले काठमाडौँ महानगरपालिकाको सार्वजनिक जग्गाको अवस्था थाहा पाउन आयोग गठन गरेका थिए।

२०४९ मा गठन गरेको आयोगले तीन वर्ष लगाएर काठमाडौँ महानगर क्षेत्रको सार्वजनिक जग्गाको अवस्थाबारे सोधखोज गरेर सरकारलाई प्रतिवेदन बुझायो। तर अहिलेसम्म पनि सो प्रतिवेदन कार्यान्वयन त अलग कुरा अहिलेसम्म सार्वजनिक समेत गरेको छैन सरकारले।

आयोगको प्रमुख रामबहादुर रावलले प्रत्येक वडाका जनप्रतिनिधि समेत राखेर विस्तृतमा अध्ययन गरेको प्रतिवेदन २०५२ मा सरकारलाई बुझाए।

प्रतिवेदनमा १ हजार ८ सय ५९ रोपनी सरकारी र सार्वजनिक जग्गा मिचिएको र त्यो मिच्नेमा पुर्वमन्त्री, पूर्व कूटनीतिज्ञ तथा व्यावसायिक घरानाका व्यक्तिहरू रहेको नाम सहित उल्लेख छ।

२९ माघ, २०८०, १६:५०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।