एसएसपी पोखरेलले पाए विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी

एसएसपी पोखरेलले पाए विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ।

यसअघि कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो।

विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच माघ १२ गते भएको हातपात प्रकरणपछि विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा बुझाएका थिए।

तर, उनको राजीनामा फिर्ता गरी प्रहरी प्रधान कार्यालयले उनलाई प्रदेश समन्वय विभागमा सरूवा गरिएपछि एसएसपी पोखरेल त्यहाँ आएका हुन्।

२७ माघ, २०८०, २०:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।