प्राधिकरण र महानगरको 'मिलेमतो'मा भरतपुर विमानस्थलको दुई सय ३० मिटरको दुरीमै अवैध रूपमा बनिरहेछ चितवन बिजनेस कम्प्लेक्स
काठमाडौँ : विमानस्थल वरपर कति उचाइको भवन बनाउन पाउने तोक्ने नियमनकारी निकाय हो नेपाल नागरिक उड्डयन प्राधिकरण।
यसको आधार विमानको उडान र अवतरणको सुरक्षा संवेदनशीलता नै हो। विमानस्थलमा विमान उड्न अवतरण गराउन सुरक्षाको प्रबन्ध समेत गर्ने प्राधिकरणकै पदाधिकारीहरूले प्रभावकै आधारमा भरतपुर विमानस्थलको सुरक्षामा खेलबाड गर्न सक्रिय रहेको प्रमाण उकेराले प्राप्त गरेको छ।
भरतपुर विमानस्थलमा ठूला जहाज उडान र अवतरण गराउन विमानस्थलको क्षेत्र बढाउन मन्त्रिपरिषद्ले स्वीकृत दिइसकेको छ। भरतपुर महानगरपालिकाको नेतृत्व अब भरतपुर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दाबी गर्दै आएका छन्।
तर अहिले भरतपुर उडिरहेका ७० सिट क्षमताका विमान उडाउन अनि अवतरण गर्न समेत जोखिम हुनेगरी दुई सय ३० मिटरको दुरीमा अवैध रूपमा व्यापारिक भवन बनिरहँदा न प्राधिकरणले चासो देखाएको देखिन्छ न त महानगर नेतृत्वले नै।
भरतपुर विमानस्थल नजिकै अहिले चितवन बिजनेस कम्प्लेक्स बनिरहेको छ। यसले २०७९ भदौमा निर्माण अनुमति मागेको थियो।
आर्थिक वर्ष २०७९-८० मा प्राधिकरणले भरतपुर नागरिक उड्डयन कार्यालयलाई काटेको पत्रमा ‘जमिनको सतहबाट भवनको उचाइ २० मिटर नबढ्ने गरी निर्माण गर्दा ‘अब्सट्याकल लिमिटेड सर्फेस (ओएलएस)मा असर पर्दैन भनी पत्र पठायो।
ओएलएस भनेको जहाज उडाउँदा र अवतरण गर्दा कुनै असर नपर्ने क्षेत्र हो। तर चितवन बिजनेस कम्प्लेक्स २० मिटर अग्लो हैन, २९ मिटर अग्लो बन्यो।
अनुमति दिएकोभन्दा बढी उचाइको भवन बने महानगरबाट सम्पन्नताको प्रमाण पत्र लिन गाह्रो हुने देखेपछि भवन निर्माणमा संलग्न व्यापारिक समूहले पुन प्राधिकरणमा पत्र पठाए।
पहिला २० मिटर अग्लो भवन बनाउन अनुमति दिएको प्राधिकरणले फरक-फरक मोहडाको फरक-फरक उचाइ कायम हुने गरी पत्र पठायो।
उकेराले प्राप्त गरेको पत्रमा रनवे भन्दा २ सय २५ मिटर दूरी परको मोहडाको उचाइ २१ दशमलव ४५ मिटर, रनवे भन्दा २ सय ३७ दशमलव ३२ मिटर भन्दा परको मोहडाको २३ दशमलव २ मिटर र रनवे भन्दा २ सय ६८ दशमलव ५४ मिटर परेको मोहडाको २७ दशमलव ७३ मिटर अग्लो भवन बनाउन मिल्नेगरी अनुमति दियो।
अधिकतम २७ मिटरभित्रको अनुमति पाए पनि भवन भने २९ मिटर अग्लो बन्यो। व्यावसायिक समूहको चलखेलमा पहिलो पत्रको अनुमति संशोधनमा बदमासी भएको प्रस्टै देखिन्छ। पहिलो पटक स्वीकृति दिँदा नै २७ दशमलव ७९ मिटर नदिएर पछि किन संशोधन भयो भन्नेबारे प्राधिकरणका अधिकारी लटरपटर जवाफ दिन्छन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले उकेरासँग फरक-फरक मोहडामा फरक-फरक उचाइ बनाउन अनुमति दिएको स्वीकार गरे पनि अनुमति बदल्नुको प्रस्ट आधार खुलाउन सकेनन्।
‘चितवन बिजनेस कम्प्लेक्सलाई दुई पटक अनुमति दिएका हौँ। सुरुमा २० मिटर थियो, अहिले २७ मिटरसम्म छ तर सबै मोहडाको २७ मिटर होइन,’उनले भने, ‘त्यहाँ भन्दा अग्लो त उहाँहरूले बनाउनुहुन्न होला। भवन बनिसकेको पनि छैन।’
महानगर जानकार भए पनि मौन
सो भवन अवैध रूपमा बनिरहेकोबारे भरतपुर महानगरपालिकाको नेतृत्व जानकार देखियो। स्रोतका अनुसार महानगरपालिकाले प्राधिकरणले दिएको अनुमति भन्दा अग्लो बनाए भवन बनाए निर्माण सम्पन्नताको प्रमाणपत्र नदिने भनेको खुल्यो। त्यसपछि सबैभन्दा माथिल्लो तहमा बनाएको स्वीमीगं पुल हटाए। तर अझै पनि भवन मापदण्ड विपरीतै बनिरहेको छ। महानगरले अनुगमन गरेको खुलेन।
अवैध भवन कसको?
यो कम्प्लेक्सका अध्यक्ष विनुपकुमार बराल हुन्। पेसाले भवन निर्माणमा संलग्न उनी पार्टीगत रूपमा नेपाली कांग्रेस निकट हुन्। भरतपुरको नेतृत्वमा कांग्रेसहितको समर्थनमा जितेकी रेनु दाहाल मेयर छिन्।
जानकारस्रोतका अनुसार भवन निर्माणमा संलग्न बरालसँगै कम्प्लेक्स निर्माणमा ४० बढी व्यवसायीले लगानी गरेका छन्।
भरतपुर महानगर नेतृत्वलाई विमानस्थल नजिकै सुरक्षामै जोखिम बढाउनेगरि भवन बनिरहेकोबारे जानकारी भए पनि विमानस्थलको सुरक्षा चुनौती बढाउनेगरि बनिरहेको भवनको निर्माण रोक्न प्रभावकारी पहल गरेको देखिएन।
माघ २६, २०८० शुक्रबार १७:२२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।