ब्याच नम्बर ६९ : सिक्किमका मुख्यमन्त्री नरबहादुरले काठमाडौँदेखि नै प्रहरीलाई पैसा बाँड्दै हिँडेछन्
कहिलेकहीँ भिआइपीहरूले निकै अप्ठ्यारो पार्छन्। भुटानको घटना त्यस्तै थियो। त्यो पैसा घुस थिएन। भुटान प्रहरी प्रमुखले दिएका थिए। उनको नियत खराब पनि हैन। तर हामीले त त्यसरी पैसा लिन मिल्दैन नि।
तर अब उनीहरूले गाडीमा पैसा छाडेर गइदिए। मैले फोन गरेर पनि भनेँ। उनले 'केही हैन, केटाहरूलाई हो' भनेपछि बढी तर्क-वितर्क गर्ने कुरा भएन।
यस्तोमा आफूमाथिको नेतृत्वलाई जानकारी गराउनु भने पर्छ। नत्र मिस अन्डर्स्ट्यान्डिङ हुने जोखिम हुन्छ। जानकारी दिएर व्यक्तिगत काममा खर्च नगरी सामूहिक खर्च गर्दा अनावश्यक झन्झटबाट मुक्त हुन सकिन्छ। त्यही गरियो। प्रहरी युनिटका सबैले खाजा खाए त्यो पैसाले।
यस्ता अन्य घटना पनि छन्। अर्को घटना सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीसँग जोडिएको छ। यो पनि रमाइलो छ।
यो २०४६ ताकाको कुरा हो। म त्यो बेलामा लहानमा कार्यरत थिएँ। नेपाल बाहिरबाट भण्डारी हवाईमार्गहुँदै काठमाडौँ आएछन्। काठमाडौँबाट सिधै सिक्किम जाने हवाई सेवा त छैन। नेपालभित्रकै आन्तरिक हवाई सेवा भने प्रयोग गर्न सकिन्थ्यो। अब उनलाई के लाग्यो कुन्नि, काठमाडौँबाटै स्थलमार्गहुँदै सिक्किम हिँडे।
उनी सिक्किमको मुख्यमन्त्री। विशेष व्यक्ति भएकाले स्थलमार्गबाट जाँदा सुरक्षा प्रबन्धको जिम्मेवारी नेपालकै हुने भइहाल्यो। प्रहरी प्रधान कार्यालयबाट उनी जुन-जुन रुट हुँदै सिक्किम जाने हो त्यहाँको प्रमुखलाई स्कटिङसहितको सुरक्षा प्रबन्ध गर्ने निर्देशन आयो।
लहानको रुटको सुरक्षा प्रबन्ध गर्ने जिम्मा मेरोमा आइपुग्यो। यस्तोमा भिआइपीको रिसिभ गरेर सुरक्षितरुपमा आफ्नो नाका कटाउनुपर्छ। लहान प्रवेश भएपछि मेरै नेतृत्वमा स्कटिङ सुरक्षासहित उनलाई लहानको बोर्डर कटाइयो। लहानको सीमा कटाएर अर्को जिल्लामा सुरक्षा हस्तान्तरण गर्ने बेलामा गाडीमा गएर स्यालुट गर्दै बिदाइ भेट गरेँ।
उनी मुसुक्क हाँसे अनि गोजीबाट निकालेर मलाई खाम दिए। प्राय भिभिआइपी/ भिआइपीहरूको सुरक्षामा खटिँदा उनीहरूले धन्यवाद पत्र दिन्छन्। हिलारी क्लिन्टनको सुरक्षामा खटिँदा पनि त्यसरी नै ‘राम्रो सुरक्षा प्रबन्ध गरेकोमा धन्यवाद’ भनेर लेखेको धन्यवाद पत्र पाएको थिएँ। सिक्किमका मुख्यमन्त्री भण्डारीले दिएको खाम पनि त्यस्तै होला भनेर लिएँ अनि बिदाइ अभिवादन गरेर कार्यालय फर्किए।
पत्रमा के लेखेको रहेछ भन्ने चासो हुने नै भयो। कार्यालय फर्किएर खाम खोलेर हेरेको त धन्यवाद पत्र हैन भारतीय नोट पो छन्। छक्क परेँ म त।
त्यो बेलामा महिनाको तलबै १४-१५ सय रुपैयाँ थियो। भण्डारीले दिएको खाममा त २५ सय भारतीय रुपैयाँ थियो। त्यो बेलामा २५ सय भारु भनेको ठुलै रकम हो।
पैसा देखेपछि के गर्ने, के भयो। अनि अन्य जिल्लामा सुरक्षा दिएका केहीसँग कुरा गरेँ। उनले त सबै जिल्लामा सुरक्षामा खटिनेहरूलाई त्यसरी नै खाममा पैसा हालेर बाँड्दै हिँडेका रहेछन्।
अब त्यो पनि घुस हैन। भिआइपीले खुसीले दिएका हुन्। तर अर्को कोणबाट हेर्दा त पैसा लिएको जस्तो भइहाल्छ नि। अब त्यो रकम कार्यालयको खाना र खाना प्रबन्ध गर्ने मेसमा मिसाउनुको अर्को विकल्प थिएन। खसी काटेर भोज गरियो। २५ सय भारु खर्च गरेर भोज गर्दा त भव्य भयो नि।
OOO
विदेश भागेका नेपाली आरोपीलाई कसरी नेपाल ल्याइन्छ अनि नेपालमा आएर लुकेर बसेका आरोपीलाई अन्य देशले कसरी लैजान्छ भन्ने मूल प्रसङ्ग लेख्न थालेको थिएँ, बिचमा अनपेक्षितरुपमा आइलागेका टिप्सका प्रसङ्गहरू सम्झिएकाले लेख्न मन लाग्यो।
अब मूल प्रसङ्गमै फर्किएँ।
नेपाल-भारतविचको खुल्ला सीमाका कारण अपराध नियन्त्रण बढो कठिन छ। सरकारले प्रस्ट कानुनी प्रबन्ध गरेको छैन। कानुनै बनेको छैन भनेर प्रहरी चुप बस्ने हो भने अपराध बढेर नियन्त्रणै गर्न नसक्ने जोखिम पनि आउन सक्छ। त्यसैले यस्तो अवस्थामा नेतृत्व गर्नेले व्यक्तिगत जोखिम मोलेर काम गर्नुको विकल्पै हुन्न। घटनाको प्रकृति हेरेर गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्ममा जानकारी पुग्छ नै। तर कथमकदाचित् घटना अलि क्रिटिकल भयो भने त सबै दोष प्रहरीको टाउकोमा थोपर्ने प्रचलन छ नै। अधिकांश जानकारी वा निर्देशन मौखिक हुन्छ। फस्यो भने फस्ने प्रहरी नै हो। तर के गर्ने! सुरक्षा प्रबन्ध मिलाउन भगवान् भरोसे शैलीमा व्यक्तिगत जोखिम नलिई सम्भवै हुन्न।
किनकि, अब काठमाडौँमा अपराध गरेकाहरू यहाँबाट उम्किएर सहजै भारतीय क्षेत्रमा पुग्न सक्छन्। उता भारतमा अपराध गर्नेहरू पनि सुरक्षा खोज्दै सहजै नेपाल आइदिन्छन्। यता आएका भारतीय अपराधीलाई नलखेट्ने अनि नेपालमा अपराध गरेर भारत पुगेकालाई नेपाल नल्याए अपराध अनुसन्धान सफल हुन सक्दैन। नेपाली अपराधीलाई भारत सुरक्षित आश्रयस्थल बन्छ अनि भारतीय अपराधीका हकमा नेपाल सुरक्षित आश्रयस्थल बन्छ।
नेपालमा अपराध गरेर भारत पुगेर लुक्ने अनि भारतमा अपराध गरेर भागेर नेपालमा आएर लुक्नु सामान्य नै हो। भारतीय मिडियाहरू हेर्यो भने पनि थाहा हुन्छ, त्यहाँ कुनै ठुलो आपराधिक घटना भएर कोही पक्राउ परेन भने पहिलो शङ्का ‘भागेर नेपाल पुग्यो’ भन्ने नै हुन्छ।
रामरहिम नभेटिँदा पनि त्यही शङ्का भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपालसँग गम्भीर चासो पनि राखेका थिए। भारतमा गायक शिद्दु मुसेवालाको हत्या हुँदा होस् या खालिस्तानी नेता अमृत पाल सिंहले पञजावमा वितण्डा मच्चाएर भुमिगतहुँदा होस् भागेर जाने देशको पहिलो शङ्कामा नेपालै परेको थियो।
यो सामान्य पनि हो। तत्काल भारतबाट अर्को देशमा भाग्न सम्भव हुन्न। भाग्न सजिलो त नेपालै हो। त्यही भएर कसैले अपराध गरेर उता भारतमै लुकेका छन् भने पनि उनीहरूले आफ्नै देशभित्र खोजी सुरु गरेसँगै नेपालमा पनि सम्पर्क गरिहाल्छन्।
सबै नेपालै आएका हुन्छन् भन्ने हुन्न। तर आउन सक्ने सम्भावना त हुन्छ नि। न भिसा चाहियो न पासपोर्ट। किन आएको पनि मतलब हुन्न। सीमामा को, किन, के प्रयोजनमा आयो भनेर दह्रो सोधखोज हुन्न। लुसुक्क छिरे भइहाल्यो। त्यसमा पनि अनौपचारिक बोर्डहरू कति छन् कति।
ठुलो केस भएपछि त भारतीय सुरक्षाकर्मीले यता सम्पर्क गरेर जानकारी गराइहाल्छन्। जस्तो अमृत पालले पन्जाबको प्रहरी कार्यालयमा आक्रमण गरेर आफ्नो समूहका नेता छुटाएपछि भारतमा बबाल भएको थियो। उनी सम्पर्कहीन भएपछि खोजीमा खटिएको भारतीय सुरक्षा निकायले पहिलो शङ्का नेपालमा गयो होला भन्ने नै गरेका थिए। भारतीय मिडियाहरूमा अमृत पाल भागेर नेपाल गएको दाबीका समाचारहरू टन्नै आएका थिए।
भारतीय सुरक्षा निकायका सदस्यहरूले अनौपचारिक रूपमा अमृतपाल नेपालबाट हवाई मार्गबाट क्यानडा भाग्न नसकोस् भनेर खोजीमा सघाउन र विमानस्थलमा अलर्टमा राख्न उसका विवरणहरू पठाएका थिए।
यताको एयरपोर्टमा अलर्ट जारी भएको पनि थियो। कतै काठमाडौँ अनि काठमाडौँ बाहिरका गुरुद्वारामा बस्ला कि भनेर निगरानी पनि राखिएकै हो। तर पछि अमृत पाल भारतमै पक्राउ परे।
भारतमा गम्भीर अपराधमा संलग्न भएकाहरू नेपालमा लुकेर बसेको अवस्थामा फेला परेका पनि छन्।
जस्तो किड्नी किङ भनेर त्यो बेलामा निकै विवादमा आएका डाक्टर अमित कुमार भारतबाट फरार भए। भारतभित्रै उनको खोजी त भयो नै नेपाल आएको शङ्का गरेर यता पनि खोजी सुरु भयो।
उनी चीतवनको रिसोर्टमा लुकेर बसेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिएर भारत पठाइएको थियो।
अर्को, भारतको अलकायदाको रूपमा लिइने इन्डियन मुज्जाहिद्दिनका कमान्डरहरूलाई भारतको खुफिया र सुरक्षा निकायले धुइँपत्ताल खोजीगरिरहेका थिए। अधिकांश पाकिस्तानको संरक्षणमा रहेको दाबी आउँथ्यो। तर कमान्डर यासिन भड्कल सहयोगीसहित नेपालको पोखरामा फेला परे। लुसुक्क भारत पठाइयो।
यति पढ्दा ‘लौ नेपाल प्रहरीको काम त भारतीय अपराधी खोज्ने मात्रै रैछ’ भन्ने लाग्ला। हामीले नेपालमा लुकेर बसेकालाई भारत पठाएका मात्रै छैनौ, टन्नै ल्याएका पनि छौँ।
अमर टण्डन भन्ने कुख्यात अपहरणकारीलाई नेपालले भारतबाटै पक्राउ गरेर ल्याएको त हो। नेपालमा त्यो बेलामा टण्डनले चिकित्सकदेखि म्यानपावर व्यवसायीसम्मको अपहरण गराउँदै फिरौती उठाएर हत्तू बनाएका थिए।
उनी मुख्य योजनाकार देखिए पनि नेपाल प्रहरीले फेलै पार्न सकेको थिएन। पछि उनी भारतमा बसेर नेपालमा अपहरण गराउने गरेको देखिएपछि नेपाल प्रहरीको टोली भारत पुगेर नेपाल ल्याएको थियो।
युनिटी लाइफ ठगीका फरार काशी गुरुङ, सिद्धार्थ लामा लगायतका टन्नै अपराधी जो नेपालबाट भागेर भारत पुगेका थिए उनीहरूलाई नेपाल प्रहरीले भारतबाटै ल्याएको हो।
एक रूपमा दिल्लीको रेल्वे स्टेसनमा समातिने कुख्यात भारतीय अपराधी अनि नेपाल-भारत सीमामा फेला परेको भनिने कुख्यात नेपाली अपराधी यस्तैगरी साटफेर हुन्छ भन्ने सुरक्षाबारे सामान्य जानकारी राख्नेले पनि चाल पाउँछ। यो लुकेको विषय हैन।
समस्या भनेको व्यक्तिगत जोखिम हो। नेपालका सुरक्षाकर्मी हुन् या भारतीय, कानुन नहुँदा दुबैतिरकाले व्यक्तिगत जोखिममा काम गरिरहेका छन्। कहिले पुरस्कृत पनि भइन्छ। तर देशका लागि व्यक्तिगत जोखिम कहिलेसम्म लिने? भन्ने प्रश्न त जायज हो नि। सबैले, सधैं जोखिम मोल्छ भन्ने पनि हुन्न। यसमा चैं प्रस्ट कानुनी प्रबन्ध गरे धेरै सजिलो हुन्थ्यो।
कसैलाई प्रहरीले व्यक्तिगत फाइदा वा प्रोफाइलका लागि यता र उताका प्रहरी सुटुक्क मिलेर काम गर्छन् भन्ने पनि लाग्न सक्छ। तर यस्ता अप्रेसन संयुक्त सहमति नभई सम्भव हुन्न।
नेपाल होस् या भारत त्यो देशको सुरक्षा सङ्गठन वा सम्बन्धित क्षेत्रको प्रमुखको सहमतिबिना उताकालाई वा यताकालाई थाहै नदिई पक्राउ गरेर लैजान वा ल्याउन सम्भवै छैन।
कुनै-कुनै घटना भने निकै जटिल पनि हुन्छ। यस्तोमा सहकार्य हैन आँखा चिम्लने पनि हुन्छ। सहमतिमै भएको हुन्छ तर थाहै नपाएजस्तो गर्नु पनि पर्छ।
यस्तो अप्रेशन व्यक्तिगत सम्बन्ध र सम्पर्कका आधारमा मात्र सफल हुन्छन्। नेपाल प्रहरीबाट पनि भारतमा आइपीएस लगायतका तालिममा पठाउने गरिन्छ। त्यसले नेपाल प्रहरीका अधिकृत अनि भारतका अधिकृतबीच व्यक्तिगत सम्बन्ध बनाएको हुन्छ।
यता र उता दुबैतिर सँगै एकेडेमीमा पढेकाहरू भए भने व्यक्तिगत रूपमा पनि निकै प्रभावकारी काम हुन्छन्, भएका छन्। अब बदमासी नै हुन्न भनेर ठोकुवा नगरौँ। एकाध हुन पनि सक्छन्। तर अधिकांश काम दुवै तीरकाले गर्ने देशकै लागि हो।
भारतीय सुरक्षाकर्मीले चाल पाएर पनि चालै नपाएजस्तो एक घटना लेख्छु। नेपालगन्जका सुन व्यवसायी दीपक हेमकार परिवारका ५ जनाको हत्या घटनाको अनुसन्धान यसमा राम्रो उदाहरण हुनसक्छ।
सुन कारोबार गर्ने दीपक हेमकार परिवार सदस्यहरू २०६२ मा मारिए। एक जना हो र, परिवारका सबै। उनको आमा, बा, हजुरआमासँगै घरको कामदार समेत मारिए।
दीपककी श्रीमती त्यो बेलामा भारतको लखनउमा रहेको माइत गएकी थिइन्। त्यही बेलामा यता त्यति क्रूर घटना भयो। प्रहरी अनुसन्धानमै थियो। दीपककी श्रीमती नेपाल आएर यता भएको सम्पत्ति बेचेर उतै भारत फर्किइन्। उनी उतै बस्न थालिन्।
यतिमै शङ्का गरिहाल्ने भन्ने हुन्न। श्रीमान्सहित सबै मारिएपछि असुरक्षित महसुस भएर गएको पनि हुनसक्छ नि। घटना निकै गम्भीर थियो तर धेरै क्लु थिएन प्रहरीसँग।
अनुसन्धानमा आएका क्लु जोड्दै जाँदा पहिलो शङ्कामा दीपकको श्रीमती र उनका ससुरा किशोरीलाल सोनी परे। तर उनीहरू भारतमा थिए। सामान्य सोधपुछ गर्न पनि सम्भव थिएन।
जति गरे पनि सामूहिक हत्याको अनुसन्धान सफल भएन। उनीहरूसँग सोधपुछ पनि भएन। यो घटना १४ वर्षसम्म रहस्यमय अपराधकै सूचीमा बसिरह्यो।
घटनाको १४ वर्षपछि २०७५ मा किशोरीलाल पक्राउ परे। नेपालगन्जको प्रहरीले पत्रकार सम्मेलन गरेर नेपालगन्जको जमुनाहाबाट उनी पक्राउ परेको दाबी गरिरहँदा उता भारतीय मिडियामा लखनउमा नेपाल प्रहरीको टोलीले किशोरीलाललाई पक्राउ गरेर गाडीमा हाल्दै गरेको सिसिटिभी फुटेजसहितका समाचार प्रसारण भइरहेका थिए।
नेपालको प्रहरी लखनउ गएर उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेर नेपाल ल्याएका थिए। सिसिटिभी फुटेज सार्वजनिक भएपछि भारतीय प्रहरीले ‘नेपालबाट आएका प्रहरीले भारतमा आएर भारतीय नागरिकलाई समातेर लगेकाले कारबाही हुन्छ सम्म भने।
तर यो सहमतिमै भएको पक्राउ हो। नेपाल प्रहरीले भारतीय प्रहरीको कसैको सहयोगै नलिई लखनउ गएर भारतीय नागरिक पक्राउ गरेर नेपाल ल्याउन सम्भवै हुन्न नि।
यस्तोमा आन्तरिक रूपमा जानकारी हुने तर प्रत्यक्ष रूपमा संलग्न हुन नमिल्ने भएपछि नदेखेझैँ, थाहा नपाएझैँ गर्ने त हो। भारतीय सुरक्षाकर्मीले पनि त्यही गरेका थिए। पछि प्रमाणै सार्वजनिक भएपछि निकै हल्लाखल्ला भयो। उनीहरू अप्ठ्यारोमा परे।
आँखै चिम्लिनुपर्ने हेमकार परिवारको घटनाको जस्तो अनुसन्धान भने निकै कम हुन्छ।
तर मूल प्रश्न देशका लागि प्रहरीले व्यक्तिगत जोखिम मोलेर कहिलेसम्म काम गर्ने भन्ने हो नि। अहिले त झन् सुरक्षा प्रबन्ध मिलाउनेक्रममा कतै केही भयो र सरकारमा रहेकाहरू कसैलाई आपत् पर्यो भने प्रहरीको टाउकोमा सबै दोष हालेर जोखिने घटना बढेका छन्।
यस्तो भएपछि कुन चैं प्रहरीले जोखिम लिएर काम गर्छ? अपराध नियन्त्रण, अनुसन्धान राज्यको जिम्मेवारी हो। राज्यको तर्फबाट प्रहरी सङ्गठनका सदस्यहरूले देशको विद्यमान कानुन अनुसार परिचालित भएर काम गर्ने हो।
अब भारतसँग परस्पर सहयोग सम्बन्धी सन्धि नै भएको छैन भनेर सधैं, सबै प्रहरीले व्यक्तिगत जोखिम मोलेर काम गरिरहन सक्दैनन्। गर्दैनन्। त्यो बेलामा आउने जोखिम हटाउन कानुनी प्रबन्धै गर्नुपर्छ।
यसले प्रहरीलाई मात्रै हैन देशलाई नै फाइदा हुन्छ। जस्तो यासिन भट्कल भारतीय सुरक्षा निकायको मात्रै हैन अमेरिकी सरकारको आतङ्कवाद सूचीमा परेको सङ्गठनको कमान्डर थिए। उनलाई नेपालमा नेपाल प्रहरीले पक्राउ गरेर औपचारिकरुपमा भारतलाई बुझाएको रेकर्ड राख्न सकेको भए आतङ्कवाद नियन्त्रणमा नेपालले खेलेको भूमिकाको रूपमा लिइन्थ्यो। यसलाई आतंकवादविरुद्ध देश प्रतिबद्ध रहेको देखिन्थ्यो। अब लुसुक्क समातेर खुसुक्क बुझाएपछि जस कहाँ पाइन्छ र!
(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
माघ २५, २०८० बिहीबार १९:५३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।