गीतकार डिआर राईको हिजोको कुरा : मैले पनि गीत लेखेको छु भन्दा चर्चित गीतकारले ‘तैँले पनि गीत लेख्छस्’ भनेर उडाए
गीतकार तथा फोटोग्राफरका रूपमा चर्चित सर्जक हुन् डिआर राई। उनका ‘जीन्दगी अब यस्तै हो’, ‘झन् झन् मुटु दुख्न थाल्यो’, ‘उदासी मनलाई’, ‘लालुपाते’ लगायत थुप्रै गीतहरू स्रोतामाझ लोकप्रिय छन्। उनको परिचय गीतकारबाट मात्र पुग्दैन। उनी चर्चित फोटोग्राफर तथा उपन्यासकार पनि हुन्।
वि.स. २०५९ सालमा ‘वाचा’एल्बम स्रोतामाझ लिएर आएका डिआर ५१ वर्षअघि इलामको पशुपतिनगरमा जन्मिएका हुन्। उनी गीत संगीत र फोटोग्राफरसँगै केहि वर्षयता उपन्यास लेखनमा समेत सक्रिय छन्। करिव ५ वर्षअघि उनले ‘तिलस्मी’ नामक उपन्यास बजारमा ल्याएका उनले हालै ‘खोक्पा’ कथासङग्रह पाठकमाझ ल्याइसकेका छन्।
उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा उनले आफ्ना विगतका अनुभव यसरी साटेका छन्।
निकै फेमस ‘चिरुवा हाप्पेन्ट’
मैले गाउँकै स्कुलमा पढेको हो। गाउँमा पढ्दा अहिलेजस्तो सहज थिएन। हामी बिहानभरि एकभारी घाँस काटेर स्कुल पढ्न जान्थ्यौँ। स्कुलमा दिनभरि पढेर आएपछि फेरि बस्तुभाउ हेर्ने काम हुन्थ्यो। गाइवस्तुहरू धेरै थिए। उनीहरूलाई अघाएपछि मात्रै हामीले फुर्सद पाउँथ्यौँ। हामी ६ जना दाजुभाइ र चार जना दिदिबहिनी छौँ। म चाहिँ काइलो छोरो हुँ।
त्यो समयमा हामी स्कुल जाँदा खाली खुट्टा नै जाने गर्थ्यौँ। कसैको पनि खुट्टामा चप्पल हुँदैनथ्यो। त्यो समयमा खुट्टाले जुत्ता चप्पल पाउनै मुस्किल थियो। म १२ वर्षको उमेर भएपछि मात्रै जुत्ता चप्पल लगाएको याद छ। त्यो भन्दाअघि खाली खुट्टा नै हिड्ने हो। सायद त्यो बेला नै त्यस्तो थियो। जुत्ता चप्पल लगाउनुपर्छ भन्ने कसैलाई हुँदैनथ्यो।
अहिले त मान्छेहरूले थरि-थरिका लुगाहरू लगाएका हुन्छन्। हाम्रो पालामा लुगा लगाउने कुरा निकै परको थियो। मैले ८/९ वर्षको उमेरमा बल्ल चिरुवा हाप्पेन्ट लगाएको थिएँ। त्यतिबेला चिरुवा हाप्पेन्ट निकै फेमस थियो। दिसापिसाब गर्दा पनि फुकाल्न नपर्ने, बस्दा भइहाल्ने। मैले निकै ठूलो हुन्जेलसम्म चिरुवा हाप्पेन्ट लगाएँ।
दिसापिसाब गर्दा पनि सजिलो हुने भएकाले त्यो बेला चिरुवा हाप्पेन्ट लगाउने चलन थियो जस्तो लाग्छ मलाई। किनभने त्यतिबेला कट्टु लगाउने चलन थिएन। दिसापिसाब गरिसकेपछि सरसफाई गदिर्ने चलन थिएन। बाउआमालाई छोराछोरी हेरचाहका लागि सस्तो र सजिलो भएकाले पनि चिरुवा हाप्पेन्ट किन्दिन्थे होला। यो आज भन्दा ४० वर्षअघिको कुरा हो।
मलाई अहिले पनि लाग्छ, त्यो समयमा दुःख चाहिँ गरियो तर निकै स्वतन्त्र भएर। कतै पीर नपर्ने, तनाव नहुने। बेलुकाको खाना भुटेको मकै हुन्थ्यो। हाम्रो मानसिकता के हुन्थ्यो भने बेलुकाको खाना भनेकै भुटेको मकै, स्कुस र पिँडालु हो। मैले कसैमा पनि त्यो बेला खानेकुरामा चिन्ता भएको पाइनँ। त्यो चिन्ता र पीर खासै नभएको हुनाले पनि होला मान्छेहरू निरोगी थिए।
मैले के कुरा अनुभव गरेको छु भने जब मान्छेले विहान के खाउँ, बेलुका के खाउँ भनेर चिन्ता गर्छ तब उसलाई रोगले समाउँदो रहेछ। मैले त्यो बेला खानेकुरामा चिन्ता गरेको मान्छे खासै भेटिनँ। उनीहरू हर्ताकर्ता, फुर्तिला अनि बलिया थिए।
पहिलो पटक फोटो स्टुडियो छिर्दा डराए
हाम्रो घर भारतको बोर्डर नजिकै पर्छ। हाम्रोबाट नजिक भारतका शहरहरू दार्जिलिङ, सुकिया, मिरिक, भञ्याङ हुन्। सुकिया बजार अझ नजिक हो। यी शहरहरूमा हिँडेरै जाने आउने गरिन्थ्यो। गाडी पाइँदैनथ्यो। दार्जिलिङ बजारसम्म जाँदा बिहान गएर बजार भरेर आउन सकिन्छ। मैले थाहा पाउँदा भारतका यी शहरहरू नै विकसित थिए। हाम्रोतर्फ त केहि पनि थिएन। अब फोटोको कुरामा त्यहिँबाट जोडिन्छ।
अरूतिर के थियो थाहा भएन तर मैले थाहा पाउँदा हाम्रोतिर फोटो खिचिँदैनथ्यो। अनि म ८/९ वर्षको हुँदा सुकिया बजारमा फोटो स्टुडियोहरू कतै-कतै पाइन्थ्यो। अति आवश्यक भएपछि सुकियाको एउटा फोटो स्टुडियोमा छिरेर फोटो खिच्दा कति डर लाग्यो भने नि! कुरै नगरुम। त्यति धेरै डराएँ।
हामी अविकसित ठाउँबाट त्यहाँ गएका, हाम्रो मानसिकता अहिलेको जस्तो थिएन। सुकिया बजारमा गाडीहरू चलिरहेका हुन्थेँ। ती गाडीका धुवाँ र त्यसका पेट्रोलहरू गनाउने लाग्थ्यो। तर, त्यहाँका मान्छेहरूले त्यसको राम्रै सुविधा उपभोग गरिरहेका थिए।
एउटा कुरा म अलिक जिज्ञासा पनि पाल्थेँ। डोरी कसरी बन्छ होला, गोठ कसरी बनाइन्छ होला भन्ने लाग्थ्यो। अनि सुकिया बजारमा फोटो खिच्दाखेरि फोटा कसरी निस्किन्छ होला भन्ने जिज्ञासा लाग्यो।
त्यो समयमा फोटो खिच्दा अहिलेको जस्तो डिजिटल सिस्टम थिएन। ठूल्ठूला लाइटहरू बाल्थे, त्यो पनि तातो न तातो। त्यति तातो लाइट अनुहारमा परेपछि खिचिक्क पारेर फोटो खिच्थेँ। उनीहरूले मेरो फोटो खिचिसक्दा पनि निकै नियालेर हेर्थेँ। मनमा बेस्मरी डर भए पनि कसरी खिच्छन्, कसरी फोटो निस्किन्छ भनेर हेरिरहेँ। त्यहि बेलादेखि नै हो मलाई फोटोग्राफीमा खिल पसेको।
फोटो खिचेपछि घरमा ल्याएर राखेँ। म प्रति फोटोको जिज्ञासाहरू बढ्दै गए। उमेर पनि बढ्दै गयो। केही कामले झापा झर्दा अलि-अलि फोटो स्टुडियोहरू खुलेको देख्थेँ अनि फोटो नियाल्थेँ। कति फोटोग्राफरहरूले किन बसिराख्छस् भनेर गाली पनि गरेका छन्। मलाई भने यो फोटो कसरी निस्किन्छ भन्ने जिज्ञासा थियो।
त्यो पूरा गर्नका लागि भएपनि म उनीहरूले फोटो खिच्दा र कसरी निकाल्ला भनेर कौतुहल्ता मेट्नु थियो। हामी झुम्रेसुम्रे मान्छे देखेर होकी क्या हो फोटोग्राफरले हेर्नै दिँदैनथे। त्यै पनि म हेरिरहन्थेँ। त्यो बेला बक्स राखेर मुनिबाट लाइट बालेर, माथिबाट ब्रस छिराएर काम गर्थे।
त्यो बेलाको फोटोमा काम गर्नेहरूलाई थाहा छ। अहिलेकालाई त्यो थाहा छैन। त्यो बेलाको समय त्यस्तो थियो। अहिले त धेरै सजिलो छ।
स्कुलबाटै साहित्यमा लेखनमा रुचि
मैले स्कुल पढ्दै गर्दा गीतका शब्दहरू कोर्ने गर्थेँ। रेडियो नेपालबाट बजेका गीतहरू सुनेका भरमा गीतका शब्दहरू कोर्नुपथ्र्यो। त्यहि गीत सुनेको भरमा नै होला मेरो गीत लेखनको प्रेरणाको स्रोत बन्यो।
हरेक मान्छेलाई साहित्यमा रुचि हुँदा मलाई पनि यतातर्फ इन्ट्रेस बढ्यो र लेख्न थालेँ। नेपालमा साहित्यिक पुस्तकहरू केहि वर्ष अघिसम्म प्रकाशित भइरहेका हुन्थेँ। मैले थाहा पाउँदा कविता, गीत, गजल समेटिएका पुस्तक प्रकाशित हुन्थेँ। साहित्यमा रुचि भएकाले म यस्ता पुस्तकहरू खोजी-खोजी पढ्थेँ।
४० वर्षअघि कै कुरा हो। मेरो घर इलाम भएता पनि इहटरीबाट ‘खुल्दुली’ नामक साहित्यिक पत्रिका प्रकाशित हुन्थ्यो। त्यसमा छापिएका अधिकांश लेख रचनाहरू हाम्रोतिर आइपुग्दा म मज्जाले पढ्ने गर्थेँ। एकदिन मलाई पनि आफ्नो कविता गजल लगायत सिर्जनाहरू छाप्न रहर जाग्यो।
सुरुवाती समयमा मैले कहिल्यै पनि गीत, कविता, मुक्तकहरू प्रकाशित वा रेकर्ड हुन्छ भनेर लेखेकै थिइनँ। त्यो समयमा साहित्यक रचना गर्दा कस्तो होला भन्ने स्वतन्त्र भाव मात्र थियो। यसरी लामै समयसम्म लेख्नेक्रम चल्यो। अहिलेको जस्तो त्यो समयमा जताततै गीत रेकर्ड गर्ने, पत्रिकामा प्रकाशित गर्ने भन्ने कुनै सुविधा नै थिएन।
मैले पनि हुलाकमार्फत इटहरीबाट प्रकाशित हुने ‘खुल्दुली’ पत्रिकामा कविता, गीत, मुक्तकहरू पठाउन थालेँ। यसरी पठाउँदा एकदिन मेरो पनि एउटा कविता प्रकाशित भएको थियो। पहिलो पटक आफ्नो कविता पत्रिकामा प्रकाशित भएपछि उल्कै खुसी भएँ, गाउँमा पनि चर्चा भयो। गाउँघरमा अधिकांशले मलाई हेर्ने दृष्टिकोणमा पनि फरक आयो।
मैले तीन लाइन, चार लाइन लेखेर उता पठाउँदै गएँ। मैले पठाएको कुरा त्यहाँ पुग्थ्यो कि पुग्दैन थियो भन्ने लाग्थ्यो। तर, एउटा कविता छापिएपछि चाहिँ पुग्ने रहेछ भन्ने लागेर अझै मेहनत गर्दै लेख्दै गएँ। यसरी एकपछि अर्को हौसलाले मलाई अहिले गीतकारका रूपमा चिनाएको हो।
उहाँहरूसँगको भेटमा मैले पनि गीत लेखेको छु भनेर सुनाउँथेँ। तर, कसैले पनि मेरो गीतका भावहरू सुनिदिनुभएन। बरु, मलाई ‘तैँले पनि गीत लेख्छस्’ भनेर उडाउनुभयो। त्यो चिया पसलमा चलेका कलाकार, गीतकार र मेरै जिल्लाबासीका साथीहरू पनि त्यहाँ हुनुहुन्थ्यो। अहिले नाम कसैको पनि नलिऊँ।
चर्चित गीतका गीतकारहरूले मलाई ‘गीतकार भनेको यस्तो हो, उस्तो भनेर’ उडाउनुभयो। मैले गीत लेख्छु भन्दा त मलाई पर-पर बनाइदिनुभयो।
मैले लेखेका गीतहरू बोकेर पनि हिँड्ने गर्थेँ। मेरो गीतका शब्द नै नहेरी अनेक भनेर मलाई नमीठो बनाएपछि अब गतिलो गीत लेख्छु भन्ने मनमा इख पलायो अनि झन् राम्रो लेख्न थालेँ।
माघ ११, २०८० बिहीबार १४:१९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।