प्रथम मधेश आन्दोलनको सम्झनामा ‘बलिदानी दिवस’

प्रथम मधेश आन्दोलनको सम्झनामा ‘बलिदानी दिवस’

 

काठमाडौं : प्रथम मधेश आन्दोलनको सम्झनामा मधेश प्रदेश सरकारमा छैटौँ बलिदानी दिवस मनाइँदैछ।

अन्तरिम संविधानमा संघीयता र समावेशिता सहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको प्रथम मधेश आन्दोलन भएको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले आज बलिदानी दिवस मनाउँदैछ।

मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते यही दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले शहादत दिएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन्।

वि.सं. २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो। माघ २ गते सुरू भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत सिरहा मझौराका विद्यार्थी रमेशको निधन भएको थियो।

यसपछि मधेशभर आन्दोलन भएको थियो। पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो।

त्यही जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै मधेश प्रदेश सरकार गठन भएदेखि शहीदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो।

५ माघ, २०८०, १३:०३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।