सुर्खेत महोत्सवको ठेक्कामा चलखेल : बढी कबोल गरेको कम्पनीले धरौटी नबुझाएको उद्योग वाणिज्य संघको दाबी

सुर्खेत महोत्सवको ठेक्कामा चलखेल : बढी कबोल गरेको कम्पनीले धरौटी नबुझाएको उद्योग वाणिज्य संघको दाबी

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा हुने ‘तेस्रो कर्णाली एक्पो २०८०’को व्यवस्थापन तथा सञ्चालनका लागि गरेको ठेक्कामा बढी कबोल गरेको कम्पनीले धरौटी रकम जम्मा नगरेको दाबी गरेको छ।

संघका अध्यक्ष लक्ष्मण कँडेलले बढी कबोल गरेको कम्पनीले धरौटी रकम जम्मा नगरेको र आवश्यक प्रक्रिया पूरा नगरेकाले कम रकम कबोलेको कम्पनीलाई ठेक्का दिइएको दाबी गरेका हुन्। त्यो प्रक्रिया ठ्याक्कै के हो भन्नेबारे भने उनले खुलाएनन्।

‘हामीले प्रतिस्पर्धीलाई बेवास्ता गरेका होइनौँ। आशयपत्रको मापदण्डका आधारमा अहिले छनोट भएको कम्पनीले ठेक्का पाएको हो,’ अध्यक्ष कँडेलले भने, ‘संघको पदाधिकारीबाट तोकेका सबै मापदण्ड पूरा गर्ने कम्पनीलाई छनोट गरेको हो।’

माघ २६ गतेदेखि फागुन ०५ गतेसम्म वीरेन्द्रनगरमा हुने ‘तेस्रो कर्णाली एक्पो २०८०’ व्यवस्थापन तथा सञ्चालनका लागि ईमेल र प्रत्यक्ष गरी ६ वटा आशयपत्र संघलाई प्राप्त भएका थिए।

जसमध्ये सबैभन्दा कम रकम कबोल गरिएको आशय पत्र ५० लाख थियो भने बढी कबोल गरिएको ८१ लाख ५० हजार ५५५ रुपैयाँको थियो।

संघले ६१ लाख रुपैयाँ कबोल गरेको ओम शक्ति मारुती ईभेन्ट एण्ड म्यानेजमेन्टलाई ठेक्का दिएको छ। उक्त कम्पनीले धरौटी, विद्युत, पानी र दुई किस्ताको लागि  ३२ लाख ५० हजार रुपैयाँ  उद्योग वाणिज्य संघलाई बुझाइसकेको संघका अध्यक्ष कँडेल बताउँछन्।

बढी कबोल गर्ने एजी सर्भिस प्रालिले ८१ लाख ५० हजार ५५५ रुपैयाँ कबोल गरेपनि धरौटी रकम, विद्युत पानी लगायतको जम्मा नगरेको र इमेल मार्फत आशयपत्र पेश गरेको लगायतका प्रक्रिया पूरा नगरेको अध्यक्ष कँडेलको भनाइ छ।

यद्यपि यसअघि भने आशयपत्र छनोटमा प्रक्रियागत त्रुटी भएको सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश बस्नेतले स्वीकारेका थिए।

‘आशयपत्र माग गर्दा सिलबन्दी भनिएको थिएन, पछि ठूलो रकम कबोल गरेको आशयपत्र आउँदा सिलबन्दी नभएको भनेर व्याख्या गरिएको पाइयो,’ बस्नेतले सोमबार भनेका थिए, ‘यो विषयमा अन्तिम निर्णय हुँदाको बैठकमा म सहभागी थिइनँ, अहिलेको निर्णय प्रक्रियागत रूपमा त्रुटीपूर्ण छ भन्ने लागेको छ, अब कसरी अघि बढ्ने भन्ने विषयमा आधिकारिक छलफल भएको छैन।’

कार्यविधि विपरीत स्वीकृति
वीरेन्द्रनगर नगरपालिकाले आफैँले बनाएको कार्यविधि मिचेर महोत्सव सञ्चालनको स्वीकृति दिएको देखियो। नगरपालिकाले मेला महोत्सव व्यवस्थापन कार्यविधि, २०७५ को विपरीत स्वीकृति दिएको हो।

सुर्खेत उद्योग वाणिज्य संघले  माघ २६ गतेदेखि फागुन ५ गतेसम्म वीरेन्द्रनगरमा ‘तेस्रो कर्णाली एक्सपो, २०८०’ सञ्चालन गर्न खोजेको छ।

कार्यविधिको परिच्छेद २ (१) मा प्रत्येक आर्थिक वर्षमा वीरेन्द्रनगरभित्र मेला महोत्सव लगाउन चाहने संस्था वा कार्यालयले भदौ मसान्तभित्र आवेदन पेश गर्नुपर्ने भनिएको छ।

तर, सुर्खेत उद्योग वाणिज्य संघले सो समयभित्र नगरपालिकामा आवेदन दिएको छैन। यो आवेदन कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघले दिएको छ।

प्रदेश उद्योग वाणिज्य महासंघले साउन २ गते नै आवेदन दिएको थियो। संघले कार्यविधिले नै व्यवस्थापन गरेको पालोका आधारमा आफूले महोत्सव सञ्चालन गर्न पाउनुपर्ने दाबी गरेको थियो।

परिच्छेद २ (२) मा मूल्याङ्कन समितिको सिफारिसका आधारमा महोत्सव व्यवस्थापन समितिले कम्तीमा ‘तीन आर्थिक वर्षसम्म एउटा संस्था मूल आयोजकमा नदोहोरिनेगरि तोकेबमोजिम सर्त राखेर मेला महोत्सव सञ्चालन अनुमति दिइने’ उल्लेख छ।

कार्यविधिमा भएको यो व्यवस्था अनुसार आर्थिक २०७५/०७६ मा चेम्बर अफ कमर्स सुर्खेत, २०७६/०७७ मा सुर्खेत उद्योग वाणिज्य संघ मूल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेका छन्।

आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा कोभिड महामारीका कारण महोत्सव सञ्चालन गर्ने अवस्था थिएन। २०७९/०८० घरेलु तथा साना उद्योग महासंघ मूल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेका छन्।

कार्यविधिका आधारमा यो आर्थिक वर्ष प्रदेश उद्योग वाणिज्य महासंघ कर्णालीले मूल आयोजकका रूपमा महोत्सव सञ्चालन गर्न पाउनुपर्ने दाबी थियो। सुर्खेत उद्योग वाणिज्य संघले नगरपालिकाबाट अनुमति पाएपछि प्रदेशले भने सहमति जनाइसकेको छ।

४ माघ, २०८०, १२:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।