टुँडिखेलमा माघी महोत्सव आजदेखि

टुँडिखेलमा माघी महोत्सव आजदेखि
फाइल फोटो

काठमाडौं : आजदेखि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव सुरू हुँदैछ।

आज र भोलि दुई दिन चल्ने माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि औपचारिक उद्घाटन गर्ने कार्यक्रम भएपनि आजैदेखि महोत्सव हुने थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले जनाएको छ।

महोत्सव अन्तर्गत आज टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ।

देशभरका थारू समुदायको उपस्थितिमा हुन लागेको महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, मुग्रंहवा लगायत प्रस्तुत हुने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

२० भन्दा बढी थारू संघ–संस्थाहरुको संयुक्त आयोजनामा हुने महोत्सवमा थारू खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १०० भन्दा बढी स्टल रहनेछन्।

फुड स्टलहरूमा पारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरूवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन्।

यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी महोत्सव गर्न लागिएको छ।

 

 

 

२९ पुस, २०८०, ०८:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।