३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिता : एपीएफलाई हराउँदै पुलिस क्लब विजयी

३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिता : एपीएफलाई हराउँदै पुलिस क्लब विजयी

 

सुर्खेत : ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ। एपीएफ क्लबलाई हराउँदै पुलिस क्लबले जित हात पारेको हो।

उपाधिका लागि आज दिउँसो १ बजेदेखि सुर्खेतकाे वीरेन्द्रनगर स्थित खुलामञ्चमा भएको खेलमा एपीएफले पुलिसलाई पहिलो सेट २५–२२ ले हराएको थियो। तर, दोस्रो सेटबाट पुलिस क्लबले लगातार तीन वटा सेट जित्यो।

पुलिस क्लबले एपीएफलाई दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–२३ ले हराउँदै विजयी भएको हो।

यस्तै, आजै बिहान भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ।

तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हराएको थियो।

गण्डकीले आर्मीलाई पहिलो सेटमा २५–२२ ले हराएको थियो। दोस्रो सेटमा भने गण्डकी २६–२४ ले पराजित भयो। त्यसपछिका सेटमा लगातार बाजि मारेको गण्डकीले तेस्रो सेटमा आर्मीलाई २६–२४ र चौथो तथा अन्तिम सेटमा २५–२२ को जित निकाल्यो।

पुस २० गतेबाट सुरू भएको प्रतियोगितामा तीन विभागीयसहित ७ प्रदेश गरी १० टोली सहभागी थिए।

उपाधिसँगै पुलिसले १ लाख रूपैयाँ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

२६ पुस, २०८०, १८:१६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।