कांग्रेसलाई अमरेशको प्रश्न- मधेशमा आनन्द ढुंगानालाई उमेदवार बनाएपछि त्यहाँका प्रतिनिधिले कुन हिसाबले भोट हाल्लान्?

कांग्रेसलाई अमरेशको प्रश्न- मधेशमा आनन्द ढुंगानालाई उमेदवार बनाएपछि त्यहाँका प्रतिनिधिले कुन हिसाबले भोट हाल्लान्?

काठमाडौं : स्वतन्त्र प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राष्ट्रिय सभा उम्मेदवारमा नेपाली कांग्रेसले मधेश प्रदेशबाट आनन्द ढुंगानालाई रोजेकोमा आश्चर्य व्यक्त गरेका छन्।

उनले यादव, मन्सुर लगायतका लायक नेतालाई छाडेर मधेशबाट पनि कांग्रेसले ढुंगाना रोजेकोमा आफूलाई गज्जब लागेको टिप्पणी गरे।

‘नेपाली कांग्रेसको राष्ट्रिय सभा उम्मेदवार हेर्दा कस्तो गज्जबको छ। महाधिवेशनमा मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना...,’ पूर्व कांग्रेस नेता समेत रहेका सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेश प्रदेश बाट मन्त्री पनि रमेश रिजाल, राष्ट्रियसभा मा पनि आनन्द ढुंगाना मधेश प्रदेशमा अरू नेता छन् कि नाइँ?’

उनले यस्तो चालाले मधेश प्रदेशका प्रतिनिधिहरूले कुन हिसाबले भोट हाल्लान् भन्ने प्रश्न समेत गरेका छन्।

‘फरमुल्लाह मन्सुर, महेन्द्र यादव , बिमलेन्द्र निधि, कृष्ण यादव जीहरूले मधेशी जनप्रतिनिधि बाहेक कांग्रेस बनाउन खोजेका हुन?,’ उनी लेख्छन्, ‘कि पुरै मधेशी जनतालाई आनन्द ढुंगानाको पाउमा राख्न खोजेका हुन?’

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला (अन्य), मधेसबाट आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीबाट जीतजंग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकीबाट किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक), लुम्बिनीबाट विष्णुकुमारी सापकोटा (महिला), कर्णालीबाट कृष्णबहादुर रोकाया (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक)लाई उम्मेदवार बनाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १० जना उम्मेदवार तय गरेको हो।

२४ पुस, २०८०, १४:१०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।