अस्पतालको नामकरण र सालिकमा सहमतिपछि बरहथवाको विवाद सकियो, सर्तमा सहिद घोषणा समेत

अस्पतालको नामकरण र सालिकमा सहमतिपछि बरहथवाको विवाद सकियो, सर्तमा सहिद घोषणा समेत

सर्लाही : प्रादेशिक अस्पतालको नामकरण मृतकको नामबाट गर्ने र सालिक बनाउनेसहितका ११ बुँदे सर्तमा सहमति भएसँगै सर्लाहीको बरहथवामा जारी आन्दोलन स्थगित भएको छ।

प्राथमिक अस्पताल स्तरोन्नतिको विवादमा पाँच दलले सुरु गरेको आन्दोलनकाक्रममा गोली चल्दा शुक्रवार स्थानीय युवा व्यवसायी जयशंकर साहको मृत्यु भएको थियो। उनको मृत्युपछि  दलको आन्दोलनमा स्थानीयसमेत मिसिएका थिए। स्थानीय र परिवारले साहको शव  उठाएका थिएनन्।

आइतबार सरोकारवालापक्ष र स्थानीय प्रशासनबिच सहमति भएको हो। सहमतिमा गृह मन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रूपमा घटनाको छानबिन गर्न सहयोग गर्ने, मृतक परिवारको एक जनालाई बरहथवा नगरपालिकाले रोजगारी दिने, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात् कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ।

यसैगरि,  अस्पताल सञ्चालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेस सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सहकार्य एवं छलफलबाट टुङ्ग्याउने, मृतकको सालिक अस्पताल प्राङ्गण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने,पाँच दलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने, मृतकको नामबाट प्रक्रिया पुर्याएर प्रादेशिक अस्पताल बरहथवाको नामकरण गर्ने र दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ।

अन्य सहमतिमा मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने, आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने र मृतकको शव तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने उल्लेख छ।

२२ पुस, २०८०, २१:३५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।