कांग्रेसले मेलमिलाप दिवस मनाउँदै, रास्वपा र राप्रपालाई छैन निम्तो

कांग्रेसले मेलमिलाप दिवस मनाउँदै, रास्वपा र राप्रपालाई छैन निम्तो

काठमाडौं : नेपाली कांग्रेसले आज ४८औं मेलमिलाप दिवस मनाउँदैछ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (वीपी) लगायतका नेताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते देशभर मेलमिलाप दिवस मनाउँदै आएको छ।

दिउँसो १ बजे काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कांग्रेसले भव्य रूपमा कार्यक्रम गर्न लागेको छ।

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहने प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए।

तर, प्रतिनिधिसभाको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाएको छैन। कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्डभित्र नपरेकाले रास्वपा र राप्रपा नपरेको विश्वकर्माले बताए।

उनले आइतबारको पत्रकार सम्मेलनमा भनेका थिए, ‘लोकतन्त्रका लागि योगदान पुर्याएका १२ बुँदे समझदारीमार्फत् नेपालमा राजनीतिक स्थिरताका लागि आन्दोलन गरेका र वृहत् शान्ति सम्झौतामार्फत् आन्दोलन अन्त्य गरेका पक्षहरुका बीचमा एउछा अन्तक्रिया गरेका छौँ। रास्वपामात्रै होइन यो मापदण्डमा नपरेकाहरूलाई बोलाएका छैनौँ।’

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किनुभएका वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।

१६ पुस, २०८०, ०९:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।