भातृ संस्थाको निर्वाचन भन्दा टिके नेतृत्वमै रमाउँदै विश्व-गगन

भातृ संस्थाको निर्वाचन भन्दा टिके नेतृत्वमै रमाउँदै विश्व-गगन

काठमाडौं : नेपाल विद्यार्थी संघका संस्थापनइतर समूहका नेताहरूले निर्वाचनको माग गरिरहेका छन्। तर केन्द्र भने संघमा टिके प्रथालाई नै बलियो बनाउन लागेको छ।

संघको निर्वाचन नहुँदा तदर्थ समितिको भरमा छ संगठन।

नैनसिंह महरको कार्यकाल सकिएपछि संघको निर्वाचन हुन सकेको छैन। महर २०७३ मा संघको सभापति भए। उनले निर्वाचन गर्न सकेनन्। म्याद थपेर बसे। विवाद भएपछि उनको सट्टा राजीव ढुंगाना नेतृत्वमा आए। तर उनले पनि निर्वाचन गरेनन्।

पार्टीले २०७८ मा दुजाङ शेर्पालाई तदर्थ समितिको सभापति बनायो। उनले पनि निर्वाचनमा चासो देखाएका छैनन्।

निर्वाचनमार्फत नेतृत्वको विकास गर्नुको साटो पार्टीको केन्द्रीय समिति पनि तदर्थ समितिको म्याद बढाउनमै केन्द्रित छ।

पछिल्लो समय संघका केन्द्रीय सदस्यहरूले शेर्पालाई भेटेर निर्वाचन गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए। तर आइतबार पार्टीको केन्द्रीय समितिको बैठकले उल्टो संघको तदर्थ समितिको म्याद छ महिना थप्ने निर्णय गर्यो।

अन्यको हालत पनि उस्तै
संघ मात्र हैन अन्य पाँच भातृ संस्थाको पनि निर्वाचनको साटो तदर्थ समितिकै भरमा चलेको छ। पार्टीले समितिको म्याद थपिराखेको छ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आइतबारको बैठकले संघसँगै, तरुण दल, महिला संघ, किसान संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र लोकतान्त्रिक आदिवासी जनजाति महासंघको तदर्थ समितिको म्याद पुन थप्ने निर्णय गरेको हो।

तरुण दलको तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङ छन्। महिला संघमा उषाकुमारी रावत मिश्र अध्यक्ष छिन्। अन्य तीन संघ पनि तदर्थ समितिकै भरमा चलेको छ। तर नेतृत्वले निर्वाचनमा चासो दिएको छैन।

विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आएका विश्वप्रकाश शर्मा र गगन थापा महामन्त्री भएपछि भातृ संस्थाको नेतृत्व लोकतान्त्रिक प्रणालीबाट हुने आशमा रहेका भातृ संस्थाका नेताहरू निराश भए। दुवै महामन्त्री पनि तदर्थ समितिमै रमाइरहेका छन्।

१५ पुस, २०८०, ००:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।